७५ लाखभन्दा बढी डिम्याट खाता हुनु ठूलो परिवर्तन हो: अध्यक्ष पाण्डे


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले पुँजी बजार वित्तीय बजार मात्रै नभई आर्थिक रूपान्तरणको महत्वपूर्ण पूर्वाधार भएको बताएका छन्। अध्यक्ष पाण्डेले बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै सो बताएका हुन्।

पाण्डेले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारसम्बन्धी छलफल सकारात्मक रहेको बताए। पुँजी बजारमार्फत लगानी, उत्पादन, निर्यात र नवप्रवर्तनलाई जोड्दै रोजगारी सिर्जनामा योगदान पुर्‍याउनुपर्ने उनको भनाइ छ।बैंकिङ्ग ऋणले मात्रै मुलुकका सबै वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भन्दै पाण्डेले पुँजी निर्माणको प्रक्रियामा पुँजी बजारलाई पनि प्रभावकारी रूपमा जोड्नुपर्ने बताए।

नेपालमा ७५ लाखभन्दा बढी डिम्याट खाता हुनु पुँजी बजारमा आएको ठूलो परिवर्तन भएको उनले उल्लेख गरे। त्यस्तै, पुँजी बजारको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६० प्रतिशतभन्दा बढी पुग्नु सकारात्मक भएको उनको भनाइ छ। तर, नेप्से सूचकांक कति बढ्यो वा घट्यो भन्नेमा मात्रै केन्द्रित हुन नहुने पाण्डेले बताए। पुँजी बजारको वास्तविक प्रभाव मूल्यांकन गर्दा कति पुँजी निर्माण भयो, कति उत्पादन र रोजगारी सिर्जना भयो तथा निर्यातमा कति योगदान पुग्यो भन्ने विषयलाई हेर्नुपर्ने उनले बताए।

बजार पुँजीकरण बढाउनुका साथै लगानी विविधीकरणमा समेत ध्यान दिनुपर्नेमा उनले जोड दिए। उत्पादनशील क्षेत्रलाई पुँजी बजारमा ल्याउन सके मात्रै बजारले वास्तविक अर्थतन्त्रमा थप योगदान पुर्‍याउने उनको भनाइ छ। पाण्डेले नियमनको उद्देश्य बजारलाई नियन्त्रण गर्नु नभई बजारलाई व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउनु हुनुपर्ने बताए। ‘नियमनको उद्देश्य बजार नियन्त्रण होइन,’ उनले भने।