कठमाडौं – मर्चेन्ट बैंकर एसोसिएसन (एमबान) अध्यक्ष रामेन्द्र रायमाझीले एउटा मात्रै छलफलले पुँजी बजारको समस्या समाधान नगर्ने बताएका छन्। अध्यक्ष रायमाझीले बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै सो बताएका हुन्।
रायमाझीले पछिल्लो दुई/तीन महिनामा बजार पुँजीकरण करिब ३०० अर्ब रुपैयाँले घटेको उल्लेख गरे। उनले पुँजी बजारमा आएको उतारचढावलाई समयमै नियन्त्रण गर्न सकिने भए पनि त्यसतर्फ पर्याप्त काम हुन नसकेको बताए। उनले पुँजी बजारको प्रभावकारी निगरानीका लागि सर्भिलेन्स क्षमता विकास गर्नुपर्ने र बजारको जोखिम व्यवस्थापनका लागि आवश्यक नयाँ वित्तीय उपकरण निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, बजारमा हेजिङको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
‘नयाँ अध्यक्षज्यूले ल्याउनुभएको मार्गदर्शनबाट केही आशा बढेको छ,’ रायमाझीले भने। उनका अनुसार स्थायी सरकार र सेबोनको नयाँ नेतृत्वले पुँजी बजारका सरोकारवालामा अपेक्षा बढाएको छ। रायमाझीले सरकार र सेबोनसँग हातेमालो गर्दै सहकार्य गर्न आफूहरू तयार रहेको बताए। यद्यपि, एउटा मात्रै छलफलबाट पुँजी बजारका सबै समस्या समाधान नहुने उनको भनाइ छ। उनले पुँजी बजारलाई दिगो र व्यवस्थित बनाउन संरचनागत सुधारसँगै नयाँ पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
मर्चेन्ट बैंकिङ एसोसिएसनका अध्यक्षले नेपालको पूँजी बजारमा देखिएको अस्थिरता समाधानका लागि तत्काल तीनवटा मुख्य क्षेत्रमा सुधार गर्नुपर्ने बताए उनले बजारको हालैको गिरावटलाई बाढीको विनाशसँग तुलना गर्दै सीमित उपकरण र कमजोर नियमनका कारण लगानीकर्ताले ठूलो क्षति ब्यहोर्नुपरेको बताए । छोटो अवधिमै करिब ३ खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण गुमिसकेको उल्लेख गरे । उनले पर्याप्त उपकरण, निगरानी र वास्तविक माग थाम्न सक्ने क्षमता नहुँदा यो स्थिति आएको र समयमै सही कदम चालेको भए क्षति रोक्न सकिने बताए। बजारलाई स्थायित्व दिन र आगामी दिनका जोखिम न्यूनीकरण गर्न उनले मुख्य रूपमा तीनवटा सुधारका क्षेत्र औँल्याए। पहिलो, बजारमा नियामक निकायको निगरानी क्षमतालाई चुस्त र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको छ। दोस्रो, परम्परागत औजारमा मात्र निर्भर नरही बजारका घाटा र जोखिम व्यवस्थापन गर्न सक्ने परिष्कृत वित्तीय उपकरणहरू ल्याउनुपर्नेछ। तेस्रो, बजारलाई स्थिर राख्न सक्षम संस्थागत लगानीकर्ताहरूको दायरा व्यापक रूपमा बढाउनुपर्ने आवश्यकता छ।भारतले सन् १९९२ को सङ्कटपछि दुई महिनाभित्रै नियामक ढाँचा र चार महिनाभित्र ट्रेडिङ प्लेटफर्म ल्याएर बजारको कायापलट गरेको उदाहरण दिए । उनले नेपालले पनि उस्तै साहसिक सुधार गर्नुपर्नेमा जोड दिए। नयाँ नियामक नेतृत्वको आगमनसँगै बजारमा उत्साह छाएको उल्लेख गरे । १० वर्षे रणनीतिक मार्गदर्शनमार्फत बजार पूँजीकरण ५० प्रतिशतले बढाउने, २०० नयाँ एसएमई कम्पनी सूचीकृत गर्ने र सूचीकृत कम्पनीको सङ्ख्या दोब्बर बनाउने लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। साथै,पर्यावरणीय, सामाजिक र सुशासन क्षेत्रमा लगानी प्रवर्द्धन तथा विदेशी लगानीकर्ता भित्र्याउनका लागि नयाँ नीति, नियम र प्रविधि आवश्यक रहेको उनको भनाइ थियो। पुराना नियम र संरचनाले वर्तमान आवश्यकता सम्बोधन गर्न नसक्ने र विद्यमान नियमावली संशोधन र संरचनात्मक परिवर्तनका लागि सरकार तथा नेपाल धितोपत्र बोर्डसँग सहकार्य गर्न मर्चेन्ट बैंकरहरू तयार रहेको प्रतिबद्धता जनाए ।






About Us
प्रतिक्रिया