लगातार घट्दै पुनः ३ लाख मुनि झर्यो सुनको मूल्य, तोलाको कति ?

'आठ दिनमा २५ हजार ४ सय रूपैयाँले घट्याे'


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। हिजो प्रतितोला ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो।

सुनको मूल्य गत मंगलबार प्रतितोला ५ सय रुपैयाँ, बुधबार १ सय रुपैयाँ, बिहीबार १ हजार २ सय रुपैयाँ र शुक्रबार २ हजार ४ सय रुपैयाँले घटेको थियो। यस्तै, यस साताको आइतबार एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो। मंगलबार ५ सय रुपैयाँ र आज (बुधबार) ८ हजार ८ सय रूपैयाँले घट्याे। यसरी हेर्दा गत मंगलबारदेखि आजसम्म सात दिनमा सुनको मूल्य प्रतितोला कुल २५ हजार ४ सय रुपैयाँले घटेको छ।