काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ १० गते आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
सेबोनले बाढीबाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हित संरक्षण सम्बन्धमा विशेष सतर्कता अपनाउन आवश्यक देखिएकाले धितोपत्र सम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बोर्डले यस्तो निर्देशन दिएको हो।
बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। त्यस्तै, प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावको विवरण संकलन गरी कम्पनीका आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्ने/गराउने व्यवस्था गर्ने भनिएको छ।
बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजना रहेको स्थान, विपद् आएको मिति र प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको असर, प्रभावित उत्पादन क्षमता, मानवीय क्षतिको विवरण तथा प्रसारण र वितरण पूर्वाधारमा परेको प्रभावबारे जानकारी सार्वजनिक गर्नुपर्नेछ। त्यसैगरी, आयोजना तथा सम्पत्तिको बीमा भएको वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने असर र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसमेत सार्वजनिक गर्नुपर्नेछ।
प्राकृतिक विपद् दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत सेबोनले निर्देशन दिएको छ।






About Us
प्रतिक्रिया