नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा एसबानका अध्यक्ष ढकाल सहभागी हुने


काठमाडौंनेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकाल सहभागी हुने भएका छन्। आगामी भदौ २१ गते हुने पहिलो डिस्कोर्शको उद्घाटन सत्रमा उनी सहभागी हुने भएका हुन्।

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ६३) को अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य हुन्। ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्रिण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानुन शास्त्रमा स्नातक गरेका छन्।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।