बाढी प्रभावितका लागि राहत कोषमा पैसा पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बाढी प्रभावितका लागि राहत कोषमा पैसा पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने बताएको छ । नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि परिचालन भइरहेका राहत कोषका खातामा मोबाइल बैंकिङ्ग, वेभ एप्लिकेसन तथा ई–मनीमार्फत हुने कारोबारमा अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त सबै संस्थालाई पत्राचार गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हुने कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। बाढी तथा डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि नेपाल सरकारमार्फत आर्थिक सहयोग परिचालन भइरहेको सन्दर्भमा राहत रकम सहज रूपमा जम्मा तथा भुक्तानी गर्न कारोबार सीमा हटाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सबै भुक्तानी सेवा प्रदायक तथा सम्बन्धित संस्थालाई सोहीअनुसार आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।