काठमाडौं – रसुवा– भोटेकोशीबाट आएको बाढीका कारण १४ वटा जलविद्युत आयोजनामा पुगेको क्षतिमध्ये ५ कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत रहेका छन्। बाढीबाट क्षति पुगेका १४ कम्पनीमध्ये चिलिमे हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, रसुवागढी हाइड्रोपावर, सान्जेन जलविद्युत र त्रिशूली जलविद्युत् कम्पनी नेप्सेमा सूचिकृत छन्।
रसुवा जिल्लामा सञ्चालनमा रहेको आठ आयोजनामा क्षति पुगेको छ भने नुवाकोट जिल्लाका प्रमुख ६ आयोजनामा क्षति पुगेको छ। रसुवा जिल्लामा सञ्चालित २२ मेगावाट विद्युत् उत्पादन क्षमता भएको चिलिमे हाइड्रोपावर क्षतिग्रस्त भएको छ। यसको असर शेयर कारोबारमा समेत परेको छ। भदौ ११ गते यस कम्पनी कारोबारमा कम्पनीको शेयर मूल्य ५.५५ प्रतिशतले घटेर शेयर मूल्य ४ सय ५ मा झरेको छ।
त्यस्तै, यसै आयोजना अन्तर्गतको ५ मेगावाट क्षमता भएको मैलुङ खोलामा पनि पूर्ण रूपमा क्षति पुगेको छ। यससँगै कम्पनीको शेयर मूल्य ७.७५ प्रतिशतले घटेर ३२५ मा झरेको छ। त्यसै गरी, बाढीबाट प्रभावित भएको सान्जेन खोलाको शेयर मूल्य २.११ प्रतिशत घटेको छ। यस कम्पनीको ६८ मेगावाट विद्युत् उत्पादन क्षमता छ। त्यस्तै, रसुवागढी हाइड्रोपावरको १११ मेगावाट क्षमतामा क्षति पुगेको छ। यससँगै यस कम्पनीको शेयर कारोबारमा ठुलो धक्का पुगेको छ। कम्पनीको शेयर मूल्य ८.७८ प्रतिशतले घटेर कम्पनीको मूल्य १८८ मा झरेको छ। यसैगरी, नुवाकोट जिल्लामा सञ्चालनमा रहेका आयोजनामध्ये ६ वटा आयोजनामा क्षति पुगेको छ।
जसमध्ये नेप्सेमा सूचिकृत त्रिशूली जलविद्युतको उत्पादनमा समेत क्षति पुगेको छ। २४ मेगावाट विद्युत् उत्पादन क्षमता भएको यस कम्पनीको उत्पादनमा पूर्णरुपमा क्षति पुग्दा शेयर बजारमा पनि यस कम्पनीको ‘पर्फमेन्स्’ सन्तोषजनक देखिएको छैन। आज यस कम्पनीको शेयर मूल्य ९.२३ प्रतिशतले घटेर ३५४ को बिन्दुमा झरेको छ।
बाढीबाट ७५४ मेगावट क्षमतामा क्षति
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) बाट प्राप्त विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजना प्रभावित भएका छन्। त्यसैगरी नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२।६ मेगावाट क्षमताका दुई आयोजना समेत क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी इप्पानले दिएको छ।






About Us
प्रतिक्रिया