ऋणपत्र दर्ता तथा निष्काशन नियमावली २०८३ को मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव दिन बोर्डको आग्रह


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। सेबोनले मस्यौदामाथि सरोकारवालासँग राय तथा सुझाव मागेको हो। नेपालको पूँजी बजारलाई अहिलेको इक्विटीमा केन्द्रित बजारबाट विभिन्न वित्तीय उत्पादन उपलब्ध हुने बहुउत्पादनयुक्त पूँजी बजारका रूपमा विकास गर्ने लक्ष्यअनुसार नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ।

सेबोनले ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था मात्र नभई योग्य अन्य संगठित संस्थाले समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने गरी अर्न्तराष्ट्रिय असल अभ्यास समेतका आधारमा ऋणपत्रको दर्ता तथा निष्काशन सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी एवं समयानुकूल बनाउन ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३ को मस्यौदा तयार गरेको जनाएको छ।

उक्त मस्यौदा बोर्डको कानून प्रवलीकरण समितिमा समेत छलफल भई समितिले आवश्यक परिमार्जन सहित तयार गरी पेश गरेको मस्यौदा सरोकारवालाहरुको राय–सुझाबका लागि सार्वजनिक गरिएको छ। अतः उक्त मस्यौदाका सम्बन्धमा कुनै राय, सुझाव वा प्रतिक्रिया भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको इमेलमा उपलब्ध गराई जानकारी दिन अनुरोध छ। बोर्डले यस विषयमा सरोकारवाला पक्षहरूबाट प्राप्त राय तथा सुझावको अध्ययन गरी ऋणपत्र दर्ता तथा निष्काशन नियमावलीलाई अन्तिम रुप दिने समेत जनाएको छ।