यस्ता छन् प्राथमिक पुँजी बजार सुधारका लागि सेबोनले औँल्याएको मार्गदर्शक सिद्धान्तहरू


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यले ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ।

सेबोनले सार्वजनिक गरेको पुँजी बजारको निति अन्तर्गत तर्जुमा गरिने ऐन, नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि, नियामकीय निर्णय तथा बजारसँग सम्बन्धित सम्पूर्ण सुधार कार्यक्रमहरू मार्गदर्शक सिद्धान्तका आधारमा विकास तथा कार्यान्वयन गर्न मार्गदर्शक सिद्धान्तको चर्चा गरेको छ।

यस्ता छन् सेबोनले चर्चा गरेका १५ मार्गदर्शक सिद्धान्तहरू

  • लगानीकर्ता संरक्षणः प्राथमिक पूँजी बजारको विकास तथा नियमनको केन्द्रबिन्दु लगानीकर्ताको हित, अधिकार तथा विश्वासको संरक्षण हुनेछ। प्रत्येक सार्वजनिक निष्काशनमा निष्पक्ष व्यवहार, पर्याप्त जानकारी प्रवाह तथा प्रभावकारी गुनासो व्यवस्थापन सुनिश्चित गरिनेछ।
  • निष्पक्षता तथा समान अवसरः सबै प्रकारका लगानीकर्तालाई सार्वजनिक निष्काशनमा समान अवसर प्रदान गरिनेछ।
  • पारदर्शिता तथा पूर्ण सूचना प्रवाहः सार्वजनिक निष्काशनसँग सम्बन्धित सम्पूर्ण महत्त्वपूर्ण जानकारी सत्य, सही, समयमै, पूर्ण तथा सजिलै बुझ्न सकिने ढङ्गले सार्वजनिक गरिनेछ।
  • बजारमा आधारित मूल्य निर्धारणः सार्वजनिक निष्काशनको मूल्य निर्धारण क्रमशः बजारको माग, आपूर्ति, कम्पनीको आधारभूत अवस्था तथा अन्तर्राष्ट्रिय असल अभ्यासमा आधारित प्रणालीतर्फ उन्मुख गरिनेछ
  • सुशासन तथा उत्तरदायित्वः सार्वजनिक कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक, सञ्चालक, व्यवस्थापन तथा अन्य सम्बन्धित संस्थाहरूले उच्चस्तरीय संस्थागत सुशासन तथा उत्तरदायित्वको पालना गर्नुपर्नेछ।
  • जोखिममा आधारित नियमनःनेपाल धितोपत्र बोर्डले स्रोत तथा नियामकीय प्राथमिकतालाई जोखिमकोस्तरअनुसार परिचालन गर्ने गरी जोखिममा आधारित नियमन तथा सुपरिवेक्षण प्रणाली अवलम्बन गर्नेछ।
  • अनुपातिक नियमनः नियामकीय व्यवस्था कम्पनीको प्रकृति, आकार, जोखिम, सार्वजनिक हित तथा बजारमा पार्ने प्रभावलाई ध्यानमा राखी अनुपातिक रूपमा लागू गरिनेछ।
  • प्रविधिमैत्री नियमनः नियम तथा नीतिहरू प्रविधिको विकाससँग अनुकूल हुने गरी निर्माण गरिनेछन्।
  • दक्षता तथा सरलताः सार्वजनिक निष्काशन सम्बन्धी सम्पूर्ण प्रक्रिया सरल, समयबद्ध, लागत प्रभावकारी तथा प्रशासनिक जटिलतारहित बनाइनेछ।
  • प्रतिस्पर्धा तथा नवप्रवर्तनः स्वस्थ प्रतिस्पर्धा, नयाँ वित्तीय उपकरण,समाधान तथा नवप्रवर्तनलाई नियामकीय सन्तुलन कायम राख्दै प्रोत्साहन गरिनेछ।
  • वित्तीय समावेशीकरणः भौगोलिक, सामाजिक तथा आर्थिक रूपमा विविध समुदायलाई पूँजी बजारमा समान पहुँच उपलब्ध गराइनेछ। डिजिटल माध्यममार्फत दुर्गम क्षेत्रका लगानीकर्ताको सहभागिता समेत अभिवृद्धि गरिनेछ।
  • दिगोपन तथा उत्तरदायी वित्तः हरित परियोजना, सामाजिक उत्तरदायित्व तथा मापदण्डलाई क्रमिक रूपमा सार्वजनिक निष्काशन तथा सूचना प्रवाह प्रणालीमा समावेश गरिनेछ।
  • अन्तर्राष्ट्रिय अनुकूलताः नेपालको प्राथमिक पूँजी बजार सम्बन्धी नीति तथा नियामकीय व्यवस्था तथा अन्य अन्तर्राष्ट्रिय मान्यतासँग क्रमिक रूपमा अनुरूप बनाइनेछ।
  • नियामकीय समन्वयः नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा नियामक, राजस्व निकाय तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय तथा सूचना आदानप्रदानको व्यवस्था सुदृढ गरिनेछ।
  • निरन्तर सुधार तथा उत्तरदायी नियमनः पूँजी बजारको विकास, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधिको विकास तथा बजार सहभागीहरूको आवश्यकतालाई दृष्टिगत गरी यस नीति तथा यस अन्तर्गतका नियामकीय व्यवस्थाको नियमित समीक्षा, मूल्याङ्कन तथा परिमार्जन गरिनेछ।