सेबोनले सार्वजनिक गर्यो प्राथमिक पूँजी बजार सुधार नीति २०८३, के–के समेटिएका छन् ?


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यले ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ। नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानूनी व्यवस्था गर्ने गरी बजारका सम्बद्ध पक्षहरू (मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि) को सहभागिता रहने बोर्डबाट प्राथिमक बजार सुधार सहजीकरण कार्यदल गठन भएकोमा उक्त कार्यदलले तयार गरेको प्राथमिक पूँजी बजार सुधार नीति, २०८३ सार्वजनिक गरेको हो।

सेवोनले सार्वजनिक गरेको पुँजी बजारको नितिले सार्वजनिक निष्काशन प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी र समयबद्ध बनाउँदै वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने लक्ष्य लिएको छ। सेवोनका अनुसार यो नीतिमार्फत योग्य संस्थागत तथा एङ्कर लगानीकर्ताको सहभागिता बढाउने, सार्वजनिक निष्काशनपछि उठेको पूँजीको प्रभावकारी उपयोग तथा अनुगमन गर्ने र लगानीकर्ता संरक्षणलाई थप मजबुत बनाउने व्यवस्था अघि सारिएको छ।

साथै, प्रविधिमुखी, नवप्रवर्तनमुखी तथा उच्च वृद्धि भएका उद्यमहरूको पूँजी बजारमा पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्ने र दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमिक रूपमा संस्थागत गरी नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एशियाको प्रतिस्पर्धी तथा विश्वसनीय पूँजी बजार मध्ये एकको रूपमा विकास गर्ने रणनीतिक लक्ष्यहरू लिएको छ।

साथै, बोर्डबाट सार्वजनिक गरिएको यस नीतिको कार्यान्वयनसँगै नेपालको प्राथमिक पूँजी बजार पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भई राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनको प्रमुख आधार निर्माण हुनेमा सेवोनको विस्वास रहेको छ।