८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

'मेरो शेयर प्रयोगकर्ता ७० लाख बढी'


काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्ममा डिम्याट खाता (हित ग्राही खाता) खोल्नेको संख्या ८० लाख ११ हजार पुगेको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र २०८३’ सार्वजनिक गर्दै नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको जनाएको छ। यससँगै, मेरो शेयर खाता खोल्नेको संख्यापनि उल्लेख्य रूपमा बढेको छ।

आर्थिक वर्ष २०७७ असारमा करिब ७ लाखको संख्या रहेकोमा आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म सो संख्या ७० लाख ८० हजार भन्दा बढी पुगेको छ। जुन कुल जनसंख्याको करिब २३ प्रतिशत हो।

त्यस्तै,आर्थिक वर्ष २०७७असार मसान्तसम्ममा १७ लाखको हाराहारीमा डिम्याट खाता रहेको थियो। आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म डिम्याट खाताको संख्या ६९ लाख ९७ हजार रहेकोमा आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म उक्त संख्या बढेर ८० लाख ११ हजार पुगेको हो। जुन कुल जनसंख्याको २६ प्रतिशत भन्दा बढी हो।

नेपालको प्राथमिक पुँजी बजारमा डिम्याट खातासँगै आस्वा तथा सी–आस्वा प्रणाली कार्यान्वयन भएपछि धितोपत्रमा आवेदन दिन सहज भएको थियो। यससँगै पछिल्ला वर्षहरूमा पुँजी बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांकले देखाउँछ।