काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
नेपाल सरकार गृहमन्त्री स्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई.निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री रहेका छन्।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे।
नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवम् शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक श्रीवृद्धिमा थप योगदान पुर्याउन उनले निर्देशन दिए।







About Us
प्रतिक्रिया