काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि १०४ कम्पनीहरू अनुमतिको पर्खाइमा छन्। सेबोनको अद्यावधिक तथ्यांक अनुसार पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये ५ वटा ठुला कम्पनीहरूले मात्रै करिब साढे ११ करोड कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। बोर्डमा कुल ४७ करोड २८ लाख कित्ता शेयर निष्कासनको प्रक्रियामा रहेकोमा २५ प्रतिशतभन्दा बढी हिस्सा यिनै ५ कम्पनीको रहेको छ।
सेबोनको पाइप लाइनमा रहेका यी शीर्ष ५ ठुला कम्पनीहरूमध्ये ३ वटा उत्पादनमूलक क्षेत्रका छन् भने जलविद्युत् र सेवा क्षेत्रका १–१ वटा कम्पनी रहेका छन्। उत्पादनमूलक क्षेत्रका शुभश्री अग्नि सिमेन्ट, जगदम्बा स्टिल र महाशक्ति सिमेन्टको मात्रै करिब ६ करोड कित्ता शेयर निष्कासनको पाइप लाइनमा छ।
कित्ता संख्याका आधारमा जलविद्युत् क्षेत्रको सिउरी हाइड्रोपावर सबैभन्दा ठुलो कम्पनी बनेको छ। यसले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३ लाख कित्ता अर्थात् ३ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ।
त्यसैगरी दोस्रो ठुलो कम्पनीका रूपमा शुभश्री अग्नि सिमेन्ट रहेको छ, जसले १०० रुपैयाँ अंकित मूल्यका २ करोड २ लाख कित्ता अर्थात् २ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।

उत्पादनमूलक क्षेत्रकै अर्को ठुलो कम्पनी जगदम्बा स्टिलले भने प्रिमियम मूल्य प्रतिशेयर ३३० रुपैयाँका दरले २ करोड २ लाख कित्ता अर्थात् कुल ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको छ।
यस्तै. सेवा क्षेत्रअन्तर्गत डिस मिडिया नेटवर्कले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९७ लाख कित्ता अर्थात् १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर निष्कासनको अनुमति मागेको छ। महाशक्ति सिमेन्टले पनि १०० रुपैयाँ अंकित मूल्यकै १ करोड ७८ लाख कित्ता अर्थात् १ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएर पर्खाइमा बसेको छ।







About Us
प्रतिक्रिया