धितोपत्र बोर्डद्वारा पहिलो पटक कन्सल्टेशन पेपर सार्वजनिकः मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनका लागि पहिलो पटक परामर्श पत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ। बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा सरोकारवालाको राय–सुझाव संकलन गर्न परामर्श पत्र सार्वजनिक गरेको हो।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरण चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरेपछि बोर्डले आवश्यक कानुनी, संस्थागत र प्राविधिक तयारी अघि बढाएको जनाएको छ। बोर्डका अनुसार बोर्डबाट विभिन्न चार अध्यायमा विभाजन गरी अवधारणापत्र तयार गरिएको छ। जसको प्रथम अध्यायमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता, दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास तथा नेपालका लागि प्रमुख सिकाइ, तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण र चौथो अध्यायमा नेपालका लागि विशिष्टकृत नीति सिफारिश, जसअन्तर्गत नेपालको लागि मोडल प्रस्ताव गरिएको सेवोनले जनाएको छ।

जसमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा सम्बन्धित अन्य निकायहरूको भूमिका स्पष्ट गरिएको छ। यस अवधारणापत्रले कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधि आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटेको छ। सराेकारवाला पक्षबाट प्राप्त रचनात्मक सुझावहरूको समेत अध्ययन गरी मार्जिन लेण्डिङ्ग नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली र आवरणयुक्त शर्ट सेलिङ्ग नियमावली तर्जुमा एवं सार्वजनिकीकरण गरिने हुँदा यथाशीघ्र बोर्डको ईमेलमा सुझाव दिन समेत बोर्डले अनुरोध गरेको छ।