आईक्यानमा निल बहादुर सारूको एक वर्ष, अध्यक्ष हुँदा के के गरे ?


कुनै पनि व्यावसायिक संस्थाको मूल्याङ्कन उसले आयोजना गरेका कार्यक्रमको सङ्ख्याले मात्र हुँदैन। समयले ल्याएका परिवर्तनलाई उसले कति छिटो बुझ्यो, आफ्नो भूमिकालाई कति प्रभावकारी रूपमा पुन परिभाषित गर्‍यो र आफ्ना सदस्य तथा समाजका लागि कस्तो दीर्घकालीन दिशा तय गर्‍यो भन्ने आधारमा पनि त्यसको प्रभाव मापन गरिन्छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अहिले यस्तै संक्रमणको मोडमा उभिएको छ। विश्वव्यापी रूपमा लेखा व्यवसाय कृत्रिम बुद्धिमत्ता, स्वचालन, डाटा एनालिटिक्स, डिजिटल अडिट, दिगोपन प्रतिवेदन तथा ज्ञानमा आधारित सेवा निर्याततर्फ तीव्र गतिमा अघि बढिरहेको छ। परम्परागत रूपमा लेखा राख्ने, कर विवरण तयार गर्ने वा लेख परीक्षण गर्ने पेसाको सीमाभन्दा बाहिर निस्केर चार्टर्ड एकाउन्टेन्टहरू आज व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, प्रविधि, सार्वजनिक वित्त, कर्पोरेट सुशासन र विश्वव्यापी सेवा उद्योगका प्रमुख पात्र बनिरहेका छन्।

यस्तो परिवर्तित परिवेशमा नेपाल पनि अलग रहन सक्ने अवस्था थिएन। नेपाली चार्टर्ड एकाउन्टेन्टहरू अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रमाणित गरिरहेका भए पनि संस्थागत रूपमा लेखा व्यवसायलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने, नयाँ पुस्तालाई भविष्यका सीपसँग जोड्ने र आइक्यानको भूमिकालाई समयानुकूल विस्तार गर्ने आवश्यकता बढ्दै गएको थियो।

यही सन्दर्भमा सीए निल बहादुर सारू मगरले अध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्षलाई हेर्दा एउटा साझा सूत्र स्पष्ट देखिन्छ । आइक्यानलाई केवल नियामक संस्थाका रूपमा होइन, भविष्य उन्मुख व्यावसायिक संस्था, आर्थिक सुशासनका साझेदार र विश्वव्यापी अवसरसँग जोडिएको संस्थाका रूपमा विकास गर्ने प्रयास उनले गरेका छन् ।

यस कार्यकालमा भएका सबै निर्णय एउटै प्रकृतिका थिएनन्। कतिपय सुधार तत्काल देखिने खालका थिए भने केहीले आगामी दशकलाई लक्षित गर्दै संस्थागत आधार निर्माण गर्ने उद्देश्य राखेका थिए। शिक्षा, व्यावसायिक अभ्यास, डिजिटल रूपान्तरण, लेखा सेवा निर्यात, सरकारी निकायसँग रणनीतिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा संस्थाभित्रको सुशासन । यी सबै पहलहरूलाई छुट्टाछुट्टै हेर्दा सामान्य कार्यक्रमजस्ता लाग्न सक्छन्। तर समग्र रूपमा हेर्दा तिनले आईक्यानको भूमिकालाई फराकिलो बनाउने साझा प्रयासको चित्र प्रस्तुत गर्छन्।

नेपाली लेखा व्यवसायलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने प्रयास

दक्ष जनशक्ति हुँदाहुँदै पनि सीमित संस्थागत क्षमता, सानो सञ्चालन संरचना र अन्तर्राष्ट्रिय पहुँचको अभावका कारण विदेशी परामर्श, बहुराष्ट्रिय अडिट, उच्च मूल्यका एड्भाइजरी असाइन्मेन्ट वा अकाउन्टिङ आउटसोर्सिङ जस्ता क्षेत्रमा नेपाली फर्महरूको उपस्थिति अपेक्षाकृत कमजोर रहँदै आएको छ।

आई क्यानले यही संरचनागत चुनौतीलाई पहिलो पटक संस्थागत रूपमा सम्बोधन गर्ने प्रयास गर्दै ठुलो अभ्यास विकास परियोजना अघि बढायो। यसको उद्देश्य केही ठुला फर्म बनाउनु मात्र थिएन बरु नेपाली अकाउन्टिङ फर्महरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने संस्थागत क्षमता निर्माण गर्नु थियो। विश्वका अग्रणी व्यावसायिक संस्थाहरूले अवलम्बन गरेका अभ्यासको अध्ययन गर्दै फर्महरूको आकार, विशेषज्ञता, सेवा विविधीकरण, गुणस्तर नियन्त्रण र दीर्घकालीन व्यावसायिक दिगोपनलाई एकीकृत रूपमा हेर्ने दृष्टिकोण यस परियोजनाको केन्द्रमा राखिएको थियो।

यसै सोचलाई व्यवहारमा उतार्न मर्जर गाइडलाइन्स  जारी गरियो, जसले समान उद्देश्य भएका अकाउन्टिङ फर्महरूलाई स्वैच्छिक रूपमा एकीकृत भई ठुलो संस्थागत संरचना निर्माण गर्न मार्गदर्शन प्रदान गर्‍यो। प्रतिस्पर्धी बजारमा टिक्नका लागि संस्थागत क्षमता व्यक्तिगत क्षमताभन्दा महत्त्वपूर्ण बन्दै गएको सन्दर्भमा यो पहललाई नेपाली लेखा व्यवसायका लागि संरचनागत सुधारका रूपमा हेरिएको छ।

त्यसैगरी लेखा फर्मको बजारीकरणसम्बन्धी मार्गदर्शनलाई संशोधन गरी व्यावसायिक मर्यादा कायम राख्दै आफ्ना विशेषज्ञता र सेवाको प्रवर्द्धन गर्न सक्ने वातावरण निर्माण गरिएको छ। बदलिँदो बजारमा गुणस्तरीय सेवा मात्र पर्याप्त हुँदैन । त्यसलाई विश्वसनीय रूपमा प्रस्तुत गर्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ भन्ने यथार्थलाई यस सुधारले स्वीकार गरेको देखिन्छ।

यस कार्यकालको अर्को नीतिगत उपलब्धि फर्म दर्ता प्रक्रिया,२०७९ ९पहिलो संशोधन, २०८३० हो। यस संशोधनमार्फत सम्बन्धित नियामक निकायको स्वीकृतिमा नेपाली अकाउन्टिङ फर्महरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्ने कानुनी आधार तयार गरिएको छ। नेपाली लेखा व्यवसायका लागि यो केवल प्रक्रियागत संशोधन होइन । विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने नयाँ अवसरको ढोका हो।

यससँगै कम जटिल संस्थाहरूका लागि छुट्टै लेखा परीक्षण मापदण्ड, व्यवसाय मूल्याङ्कन, जोखिममा आधारित आन्तरिक लेखा परीक्षण, निर्माण व्यवसाय, सार्वजनिक वित्त व्यवस्थापन लगायतका क्षेत्रमा विभिन्न प्राविधिक मार्गदर्शन तथा मापदण्ड सार्वजनिक गरिए। यस्ता सुधारहरूले नेपाली पेसालाई अन्तर्राष्ट्रिय अभ्याससँग थप नजिक ल्याउने र गुणस्तरीय व्यावसायिक सेवाको आधार सुदृढ गर्ने प्रयास गरेको देखिन्छ।

लेखा सेवा निर्यात : नेपालका लागि नयाँ आर्थिक सम्भावनाको खोजी

नेपालको अर्थतन्त्र लामो समयदेखि वैदेशिक रोजगारी, विप्रेषण र परम्परागत वस्तु निर्यातमा निर्भर रहँदै आएको छ। तर विश्व अर्थतन्त्रको संरचना परिवर्तन भएसँगै सेवा निर्यात नयाँ आर्थिक शक्तिका रूपमा स्थापित भइरहेको छ। सूचना प्रविधि सेवा, व्यावसायिक प्रक्रिया बाह्य स्रोत व्यवस्थापन र ज्ञान प्रक्रिया बाह्य स्रोत परिचालन जस्ता क्षेत्रमा धेरै मुलुकले छोटो समयमै उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेका छन्।

यही परिवर्तनलाई अवसरका रूपमा हेर्दै आई क्यानले पहिलो पटक ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल अघि बढायो। यसको उद्देश्य एउटा सम्मेलन आयोजना गर्नु वा नयाँ कार्यक्रम सुरु गर्नु मात्र थिएन। यसको मूल अवधारणा नेपाललाई अन्तर्राष्ट्रिय लेखा र वित्त आउटसोर्सिङ सेवाको विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति तयार गर्नु थियो।

नेपालसँग यस क्षेत्रका लागि आवश्यक धेरै आधारहरू छन्। अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रममा आधारित चार्टर्ड एकाउन्टेन्सी शिक्षा, अङ्ग्रेजी भाषामा काम गर्न सक्ने दक्ष जनशक्ति, प्रतिस्पर्धात्मक सेवा लागत, भौगोलिक रूपमा अनुकूल समय क्षेत्र तथा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल पूर्वाधारले नेपाललाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना प्रदान गर्छ। तर यी सम्भावनालाई राष्ट्रिय रणनीतिमा रूपान्तरण गर्ने संस्थागत पहलको अभाव थियो। ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल ले यही रिक्तता पूरा गर्ने प्रयास गर्‍यो।

यसअन्तर्गत नेपाललाई अकाउन्ट आउटसोर्सिङ गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले कन्सेप्ट पेपर तयार गरियो। विदेशी कम्पनी र नेपाली अकाउन्टिङ फर्महरूबिच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अकाउन्ट आउटसोर्सिङ पोर्टल सञ्चालनमा ल्याइयो। नेपालको क्षमता, जनशक्ति र सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने प्रमोसन भिडियो सार्वजनिक गरियो। साथै सरकार, निजी क्षेत्र, विकास साझेदार, अन्तर्राष्ट्रिय विशेषज्ञ तथा विदेशी व्यावसायिक संस्थाको सहभागितामा गेन कन्फ्रेन्स आयोजना गरी नेपाललाई ज्ञानमा आधारित सेवा निर्यातको नयाँ केन्द्रका रूपमा विकास गर्ने विषयमा राष्ट्रिय बहस सुरु गरियो।

यस अभियानलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन बेलायतमा आयोजित एकाउन्टेक्स लन्डनमा नेपालको सम्भावना प्रस्तुत गरियो। विश्वका अग्रणी व्यावसायिक संस्थाहरू तथा सेवा खरिदकर्तासँग प्रत्यक्ष संवाद गर्दै नेपाललाई नयाँ आउटसोर्सिङ डेस्टिनेसनका रूपमा परिचित गराउने प्रयास गरिएको थियो।

गेन को अर्को महत्त्वपूर्ण पक्ष भनेको यसलाई केवल आईक्यानको कार्यक्रमका रूपमा सीमित नराखी राष्ट्रिय आर्थिक एजेन्डा का रूपमा अघि बढाउने प्रयास हो। यसका लागि नेपाल सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य विस्तार गर्दै नीतिगत सुधार, क्षमता विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाइएको छ।

यदि यो अभियानले निरन्तरता पाउन सक्यो भने यसको प्रभाव लेखा व्यवसायमा मात्र सीमित रहने छैन। उच्च मूल्यका रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, दक्ष जनशक्ताको देशमै उपयोग, नेपाली अकाउन्टिङ फर्महरुको अन्तर्राष्ट्रिय विस्तार तथा ज्ञानमा आधारित सेवा निर्यातको नयाँ उद्योग विकासमा यसले दीर्घकालीन योगदान पुर्‍याउन सक्ने सम्भावना देखिन्छ। यही कारण गेन लाई एउटा कार्यक्रमभन्दा बढी नेपालको सेवा निर्यात अर्थतन्त्रतर्फको रणनीतिक सुरुआत का रूपमा हेर्न सकिन्छ।

नयाँ पुस्तामा लगानी : भविष्यका चार्टर्ड एकाउन्टेन्ट तयार गर्ने प्रयास

कुनै पनि व्यावसायिक संस्थाको भविष्य त्यसले आज तयार गरिरहेको जनशक्तिमा निर्भर हुन्छ। पछिल्ला केही वर्षदेखि चार्टर्ड एकाउन्टेन्सी शिक्षामा  विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थाले आईक्यानका लागि नयाँ चुनौती सिर्जना गरेको थियो। विश्वव्यापी रूपमा पेसाको स्वरूप परिवर्तन भइरहेका बेला नयाँ पुस्तालाई पुनः आकर्षित गर्नु र उनीहरूलाई भविष्यका सीपसँग जोड्नु संस्थाको प्राथमिकतामा पर्नु स्वाभाविक थियो।

यसै सोचका साथ देशभर विद्यालय तथा कलेज लक्षित करियर अभिमुखीकरण, डिजिटल माध्यमबाट पेसाको प्रवर्द्धन, विद्यार्थीसँग प्रत्यक्ष संवाद तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए। यसको परिणामस्वरूप संस्थामा नयाँ विद्यार्थी भर्ना १,७०७ बाट बढेर २,३८८ पुग्यो, अर्थात् करिब ४० प्रतिशतको वृद्धि। लगातार ओरालो लागिरहेको भर्ना प्रवृत्तिलाई छोटो अवधिमै सुधार्न सफल हुनु संस्थाका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

आर्थिक अभावका कारण कुनै पनि सक्षम विद्यार्थी अध्ययनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले १८४ जना विद्यार्थीलाई करिब ४२ लाख रुपैयाँ बराबरको पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरियो। यसले चार्टर्ड एकाउन्टेन्सी शिक्षामा समावेशिता र अवसरको पहुँच विस्तार गर्ने प्रयासलाई बल दिएको छ।

शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आई क्यानको इतिहासमै पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सञ्चालन गरियो। यससँगै क्याम्पस प्लेसमेन्ट पोर्टल र मेन्टरशिप पोर्टल सुरु गरी नयाँ चार्टर्ड एकाउन्टेन्टलाई रोजगारदाता तथा अनुभवी विज्ञसँग संस्थागत रूपमा जोड्ने व्यवस्था विकास गरिएको छ। यसअघि व्यक्तिगत सम्पर्कमा निर्भर रहेको यस्तो प्रक्रियालाई संस्थागत स्वरूप दिनु नयाँ पुस्ताका लागि महत्त्वपूर्ण परिवर्तन मानिएको छ।

प्रविधिसँग अनुकूलन :  एआई र डिजिटल आईक्यान तर्फको यात्रा

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले लेखा तथा लेखा परीक्षण पेसाको कार्यशैलीलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ। नियमित लेखा अभिलेखनदेखि वित्तीय विश्लेषण, जोखिम मूल्याङ्कन, आन्तरिक नियन्त्रण परीक्षण र अडिटसम्मका धेरै कार्यहरू प्रविधिमैत्री बन्दै गएका छन्। यस्तो अवस्थामा भविष्यका चार्टर्ड एकाउन्टेन्टका लागि प्राविधिक ज्ञानसँगै डिजिटल दक्षता अपरिहार्य बन्दै गएको छ।

यही यथार्थलाई आत्मसात् गर्दै आईक्यानले डेटा एनालिटिक्स र कृत्रिम बुद्धिमत्ता प्रमाणीकरण कार्यक्रम सञ्चालनमा ल्यायो। सदस्य र विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ताको प्रभावकारी तथा जिम्मेवार प्रयोगबारे अभिमुखीकरण गर्ने उद्देश्यले सदस्य तथा विद्यार्थीहरूका लागि एआई अभियान सुरु गरियो। त्यससँगै सूचना प्रणाली लेखा परीक्षण लगायतका योग्यता(पश्चात्का कार्यक्रमहरू विस्तार गर्दै बदलिँदो प्रविधिसँग अनुकूल जनशक्ति तयार गर्ने प्रयास गरियो।

प्रविधिलाई तालिममा मात्र सीमित नराखी संस्थाको आफ्नै कार्य प्रणालीमा पनि रूपान्तरण गर्ने उद्देश्यले डिजिटल आई क्यान कार्यक्रम  सुरु गरिएको छ। सदस्य सेवा, विद्यार्थी सेवा, अभिलेख व्यवस्थापन, सूचना प्रवाह तथा प्रशासनिक प्रक्रियालाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने अभियानले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सदस्यमैत्री बनाउने लक्ष्य लिएको छ। यसले आईक्यानलाई भविष्यमा पूर्ण डिजिटल व्यावसायिक संस्थाका रूपमा विकास गर्ने आधार तयार गरेको छ। 

नियामकबाट आर्थिक सुशासनका साझेदारतर्फ

यस कार्यकालको अर्को महत्त्वपूर्ण पक्ष भनेको आईक्यानले आफ्नो भूमिकालाई पेसागत नियमनमा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक सुशासनसँग जोड्ने प्रयास गर्नु हो।

हरेक वर्ष बजेट सार्वजनिक भएपछि प्रतिक्रिया दिने परम्पराबाट अघि बढ्दै आई क्यानले बजेट निर्माणअघि नै देशका विभिन्न प्रदेशमा प्रिबजेट अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। चार्टर्ड एकाउन्टेन्ट, उद्योगी–व्यवसायी, कर विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिबाट प्राप्त सुझावलाई समेटेर नेपाल सरकारसमक्ष बजेट तथा कर नीतिसम्बन्धी संस्थागत सिफारिस प्रस्तुत गरियो। यसले प्रमाणमा आधारित नीति संवादमा व्यावसायिक संस्थाको सहभागिता विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

सहकारी क्षेत्रमा वित्तीय अनुशासन सुदृढ गर्ने उद्देश्यले सहकारी नियमन प्राधिकरणसँग सहकार्य गरी प्रुडेन्सियल अडिट फ्रेमवर्क विकासको काम अघि बढाइयो। त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँगको सहकार्यमार्फत वित्तीय विश्लेषण र ठगी पत्ता लगाउने कार्य सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने आधार तयार गरियो। सार्वजनिक खरिद प्रणालीलाई थप प्रभावकारी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालय ९पीपीएमओ० संगको सम्बन्धमा सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी प्रमाणपत्र कार्यक्रम विकासको प्रक्रिया पनि अघि बढाइएको छ।

यी पहलहरूले चार्टर्ड एकाउन्टेन्टहरूको विशेषज्ञतालाई निजी क्षेत्रको सीमाभन्दा बाहिर सार्वजनिक वित्त, नियमन र आर्थिक सुशासनसँग जोड्ने संस्थागत प्रयासलाई सङ्केत गर्छन्।

विश्वसँग जोडिँदै आईक्यान

व्यावसायिक संस्थाको विश्वसनीयता उसको अन्तर्राष्ट्रिय सम्बन्धबाट पनि मापन हुन्छ। यस अवधिमा आई क्यानले विश्वका अग्रणी चार्टर्ड अकाउन्टन्सी  संस्थाहरूसँग सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गर्‍यो। चार्टर्ड एकाउन्टेन्ट्स वल्र्डवाइडको एसोसिएट सदस्यता प्राप्त गर्नु यस कार्यकालको प्रमुख उपलब्धिमध्ये एक हो। यससँगै  इङ्गल्याण्ड र वेल्सको चार्टर्ड एकाउन्टेन्ट्स संस्थान, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स  र सीपीए अस्ट्रेलिया लगायतका संस्थासँग ज्ञान आदान–प्रदान, क्षमता विकास तथा संयुक्त कार्यक्रमहरूलाई थप विस्तार गरियो।

विदेशमा रहेका नेपाली चार्टर्ड एकाउन्टेन्टलाई एउटै व्यावसायिक सञ्जालमा आबद्ध गर्ने उद्देश्यले आई क्यान क्यानडा च्याप्टर  स्थापना प्रक्रिया अघि बढाइयो भने दुवै च्याप्टर गठनको पहल पनि सुरु गरियो। यसले विश्वभर रहेका नेपालीबीच ज्ञान, अनुभव र व्यावसायिक अवसर आदान–प्रदानका लागि नयाँ आधार तयार गरेको छ।

यसै अवधिमा विश्व बैंकसँग नेपालको रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डर्ड एन्ड कोर्डस सम्बन्धी प्रारम्भिक प्रक्रियामा सक्रिय सहभागिता जनाइयो। सार्वजनिक वित्त व्यवस्थापन सुधार, क्षमता विकास तथा अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यका विभिन्न पहलहरूले पनि आईक्यानको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप सुदृढ बनाएका छन्।

संस्थाभित्रको सुधार : सुशासन, उत्तरदायित्व र वित्तीय अनुशासन

बाह्य सुधारसँगै संस्थाको आन्तरिक संरचना सुदृढ नगरी दीर्घकालीन परिवर्तन सम्भव हुँदैन। यही सोचका साथ आई क्यानले आफ्नै प्रशासनिक र नियामकीय संरचनामा पनि महत्त्वपूर्ण सुधारहरू अघि बढायो। यस अवधिमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ ९तेह्रौँ संशोधन० कार्यान्वयनमा ल्याइयो। संस्थाको प्रशासनिक क्षमता पुनरावलोकन गर्न अर्गनाइजेसन एन्ड मेनेजमेन्ट सर्भे सम्पन्न गरी नयाँ सङ्गठनात्मक संरचना स्वीकृत गरियो। यसले बढ्दो जिम्मेवारी र विस्तारित कार्यक्षेत्रअनुसार संस्थागत संरचनालाई समयानुकूल बनाउने आधार तयार गरेको छ।

नियामकीय विश्वसनीयताको दृष्टिले अर्को महत्त्वपूर्ण उपलब्धि पाँच वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका अनुशासनसम्बन्धी मुद्दाहरूको अनुसन्धान तथा निर्णय प्रक्रिया सम्पन्न गर्नु हो। लामो समयदेखि टुङ्गो नलागेका यस्ता मुद्दाको समाधानले उत्तरदायित्व, पारदर्शिता र पेसागत अनुशासनप्रति संस्थाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

संस्थागत पहिचान र सञ्चारलाई आधुनिक बनाउने उद्देश्यले लोगो सम्बन्धी निर्देशिका, त्रैमासिक पत्रिका तथा ई-न्यूज  जस्ता पहलहरू पनि अघि बढाइए, जसले सदस्य र सरोकारवालासँगको संस्थागत संवादलाई थप व्यवस्थित बनाएको छ। वित्तीय व्यवस्थापनमा पनि उल्लेखनीय सुधार देखियो। अघिल्लो आर्थिक वर्षमा करिब १.९१ करोड घाटामा रहेको संस्था एक वर्षभित्र  ८५ लाखभन्दा बढी सञ्चालन नाफामा पुग्यो। आम्दानी करिब १७ प्रतिशतले वृद्धि हुँदा खर्च वृद्धिलाई करिब ६ प्रतिशतमा सीमित राख्न सफल हुनु संस्थागत वित्तीय अनुशासनको सङ्केत मान्न सकिन्छ। यसले आगामी सुधार कार्यक्रमलाई आफ्नै स्रोतबाट अघि बढाउने आधार पनि बलियो बनाएको छ।

रूपान्तरणको दिशा तय गर्ने एक वर्ष

एक वर्ष कुनै पनि संस्थाको सम्पूर्ण रूपान्तरणका लागि पर्याप्त समय होइन। तर संस्थाको दिशा बदल्न, प्राथमिकता निर्धारण गर्न र दीर्घकालीन सुधारको आधार तयार गर्न भने पर्याप्त हुन सक्छ। सीए निलबहादुर सारु मगरको नेतृत्वमा आई क्यानले शिक्षा, व्यावसायिक अभ्यास, लेखा सेवा निर्यात, डिजिटल रूपान्तरण, आर्थिक सुशासन र अन्तर्राष्ट्रिय सहकार्यलाई एउटै रणनीतिक दृष्टिमा जोड्ने प्रयास गर्‍यो। ठुलो अभ्यास विकास परियोजना ले नेपाली लेखा फर्महरूको भविष्यबारे नयाँ बहस सुरु गर्‍यो। गेनले नेपाललाई ज्ञानमा आधारित सेवा निर्यातको सम्भावनासँग जोड्ने राष्ट्रिय एजेन्डा प्रस्तुत गर्‍यो। एआई, डिजिटल आई क्यान क्याम्पस पेलेसमेन्ट प्रोग्रम र मेन्टरसिप पोर्टलले भविष्यका चार्टर्ड एकाउन्टेन्टका लागि नयाँ दिशा देखाए। सरकारसँगको रणनीतिक सहकार्य, अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध विस्तार, विदेशमा शाखा खोल्ने बाटो खुलाउने फर्म दर्ता प्रक्रिया संशोधन, पाँच वर्षभन्दा पुराना अनुशासनसम्बन्धी मुद्दाको टुङ्गो तथा संस्थाको वित्तीय पुनरुत्थानले आई क्यानको संस्थागत क्षमता सुदृढ गर्ने आधार निर्माण गर्‍यो।

यी सबै पहलहरूको अन्तिम प्रभाव तत्काल देखिने विषय होइन। तर एउटा कुरा भने स्पष्ट देखिन्छ । आई क्यानले आफूलाई परीक्षा सञ्चालन गर्ने र पेसाको नियमन गर्ने संस्थामा मात्र सीमित नराखी, नेपालको आर्थिक रूपान्तरण, ज्ञानमा आधारित सेवा निर्यात र विश्व स्तरीय व्यावसायिक उत्कृष्टताको साझेदार संस्थाका रूपमा विकास गर्ने यात्रा सुरु गरेको छ। यही यात्राको प्रारम्भिक अध्यायका रूपमा सीए मगरको एक वर्षे कार्यकाललाई स्मरण गर्न सकिने आईक्यानले जनाएको छ ।