नेपाली प्रतिभालाई विश्व बजारमा कसरी जोड्ने? ट्रेस्कनका सीईओ नविन भारद्वाजको मार्गचित्र


साधारण कार्यक्रम आयोजनामा सीमित नरही एआई, ब्लकचेन र फिनटेक मार्फत देशको अर्थतन्त्र र प्रविधि क्षेत्रमा दीर्घकालीन गतिशीलता कसरी सिर्जना गर्न सकिन्छ? ‘दुबई फिनटेक समिट’ र ‘फिनटेक वर्ल्ड कप’ जस्ता विश्वविख्यात मञ्चहरूमार्फत नेपाली उद्यमी र फिनटेक स्टार्टअपहरूले १२० भन्दा बढी देशका शीर्ष लगानीकर्ताहरूसँग सिधै जोडिने अवसर कसरी पाउन सक्छन्?

प्रविधिको यो युगमा मानवीय सम्बन्ध, एआईको रूपान्तरणकारी भूमिका र नेपाललाई विश्वव्यापी व्यावसायिक सञ्जालमा जोड्ने व्यावहारिक उपायहरूबारे बैंकिङ्ग समाचारका लागि ट्रेस्कन ग्रुपका ग्रुप सीईओ नविन भारद्वाजसँग भएको कुराकानी:

छिमेकी देशको नाताले नेपाल र भारतबिच एउटा विशेष सम्बन्ध छ । हामी दुवै खुला सीमा भएका देशका नागरिक हौँ, र यो वास्तवमै एउटै परिवारजस्तै महसुस हुन्छ ।

१०० प्रतिशत। हामी एउटै परिवार हौँ ।

म सुरुवाततिर फर्कन चाहन्छु। ट्रेस्कनको सुरुवात कसरी भयो, यसको परिकल्पना कसरी गरियो र यसलाई कसरी एउटा विश्वव्यापी सञ्जालको रूपमा विस्तार गर्नुभयो ?

चाखलाग्दो कुरा के छ भने, मैले यसलाई शून्यबाट बनाएको होइन । म एउटा यस्तो मोडमा नेतृत्व सम्हाल्ने र अगाडि बढाउने अवसर पाएँ । ट्रेस्कनको सुरुवात सन् २०१६ मा भारतमा भएको हो। हाम्रा अध्यक्ष मोहम्मद सलिम, उपाध्यक्ष मिथुन शेट्टी, र प्रबन्ध निर्देशकहरू स्वर्णभ रोय र मधुकर दुड्डा मिलेर ट्रेस्कनको जग बसाल्नुभएको थियो ।

हामी १०औँ वार्षिकोत्सव मनाउँदै छौँ, मध्यपूर्व, अफ्रिका, दक्षिण एसिया र वरपरका क्षेत्रहरूमा व्यवसायहरूलाई अवसरहरूसँग जोड्दै आर्थिक प्रभाव र मूल्य सिर्जना गरेको एक दशक पूरा भएको छ।

म सन् २०२३ को सुरुवातमा जोडिएँ । म आउनुअघि नै ट्रेस्कनले वर्ल्ड स्टार्टअप एक्स्पोबाट सुरु गरेर वर्ल्ड एआई शो र वर्ल्ड ब्लकचेन समिट जस्ता ठुला कार्यक्रमहरू सञ्चालन गरिसकेको थियो। यी कार्यक्रमहरू एआई, ब्लकचेन र डिजिटल एसेट क्षेत्रमा ३० भन्दा बढी देशहरूमा सञ्चालन भइसकेका विश्वकै लामो समयदेखि चल्दै आएका कार्यक्रम शृङ्खला बनेका छन् ।

हालैका दिनहरूमा हामीले युएई, भारत, इन्डोनेसियाका सरकारी निकायहरूसँग मिलेर त्यहाँका राष्ट्रिय एजेन्डाहरूसँग मेल खाने ठुला कार्यक्रमहरूको परिकल्पना, व्यवस्थापन र सफल सञ्चालनमा ध्यान केन्द्रित गरेका छौँ। केन्या, मौरिसस र साउदी अरेबियामा पनि संवादहरू अघि बढेका छन् । यो हाम्रा सयौँ कर्मचारीहरूको सामूहिक मिहिनेतको प्रतिफल हो। हाम्रो उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु मात्र होइन, देशको अर्थव्यवस्था, उद्योग र समुदायमा ठोस योगदान पुर्‍याउनु  हो ।

तपाईँ कार्यक्रमहरूलाई एकपटक गरिने भेला मात्र नभएर एउटा मोमेन्टम भन्नुहुन्छ। यो गतिशीलतालाई कसरी व्याख्या गर्नुहुन्छ?

हामी विगतका होइन, भविष्यका विषयहरूमा ध्यान केन्द्रित गर्छौँ । हामी नयाँ प्रविधिहरू, जलवायु परिवर्तन र कार्बन उत्सर्जन, सीप विकास, र नयाँ युगको सुरक्षा व्यवस्थामा केन्द्रित छौं ।

युएईको डि३३ एजेन्डा होस्, साउदीको भिजन २०३० वा इन्डोनेसियाको गोल्डेन भिजन २०४५-हाम्रा कार्यक्रमहरू उनीहरूका राष्ट्रिय प्राथमिकतासँग मेल खाने भएकाले सरकार र उद्योगीहरूले हामीमाथि विश्वास गरेका छन् । हाम्रा मञ्चहरू विचार आदानप्रदान गर्ने, लगानी भित्र्याउने र नीतिगत सल्लाह-सुझाव दिने माध्यम बनेका छन् ।

जब स्टार्टअपहरूले लगानी पाउँछन्, ठुला कम्पनीहरूले नयाँ समाधान भेट्टाउँछन् र नीति निर्माताहरूले प्रविधि साझेदारहरूसँग छलफल गर्छन् । त्यसले एउटा सकारात्मक प्रभाव पार्छ। त्यो सामूहिक शक्तिलाई नै म गतिशीलता भन्छु।

नेपाल पनि विश्वव्यापी पहुँच, व्यावसायिक प्रभाव र स्थानीय सूचना प्रविधि (आइटी) उद्यमीहरूलाई प्रवर्धन गर्ने सोचमा छ। ट्रेस्कनसँग जोडिएर नेपाली उद्यमीहरूले कसरी फाइदा लिन सक्छन्?

पहिलो कुरा त, नेपालको नयाँ र गतिशील नेतृत्वका लागि बधाई छ । युवा नेतृत्वमाथि विश्वास जिताउनुले विश्वभर एउटा सकारात्मक र बलियो सन्देश दिएको छ ।

नेपालले हाम्रा मञ्चहरूबाट दुई तरिकाले फाइदा लिन सक्छ । सबै उद्यमीहरूसँग विदेश भ्रमण गर्ने स्रोत र अवसर हुँदैन। नेपाल सरकार वा व्यावसायिक संस्थाहरूले दुबई फिनटेक समिट वा वर्ल्ड पुलिस समिट जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाली बैंक, फिनटेक स्टार्टअप र लगानीकर्ताहरूको प्रतिनिधिमण्डल पठाउन सक्छन्। यसले उनीहरूलाई १२० भन्दा बढी देशका मानिसहरूसँग सिधै जोडिने, लगानी भित्र्याउने र बजार विस्तार गर्ने मौका दिन्छ ।

नेपालले आफ्नै राष्ट्रिय प्राथमिकता अनुसारका ठुला कार्यक्रमहरू आयोजना गर्न सक्छ । जस्तै नेपाल फाइनान्स विक, नेपाल एआई फेस्टिभल, वा ऊर्जा र पर्यटन क्षेत्रका सम्मेलनहरू हुनसक्छ ।

ट्रेस्कनमा पहिले पनि धेरै नेपाली साथीहरूले काम गरिसक्नुभएको छ । तपाईँहरूमार्फत हामी नेपाली समुदायलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्न, हाम्रा कार्यक्रमहरूमा नेपाली प्याभिलियन राख्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू आयोजना गर्न सहयोग गर्न सक्छौँ ।

दुबई फिनटेक समिट को कुरा गर्दा, धेरै नेपाली स्टार्टअपहरू त्यसमा सहभागी हुन उत्सुक छन्। उनीहरूका लागि त्यहाँ के-कस्ता अवसरहरू छन्?

दुबई अन्तर्राष्ट्रिय वित्तीय केन्द्रद्वारा आयोजना र ट्रेस्कनद्वारा व्यवस्थापन गरिने दुबई फिनटेक समिट मा विश्वभरका १० हजार भन्दा बढी मानिसहरू सहभागी हुन्छन्।

स्टार्टअपहरूका लागि हामी फिनटेक वर्ल्ड कप प्रतियोगिता चलाउँछौँ । विभिन्न क्षेत्रका छनोट विजेताहरूले दुबई फिनटेक समिटमा नि:शुल्क स्टार्टअप पड पाउँछन् । उनीहरूले सहभागिता वा प्रदर्शनी शुल्क तिर्नु पर्दैन । साथै, उनीहरूले विश्वका ठुला लगानीकर्ताहरू अगाडि आफ्नो व्यवसाय प्रस्तुत गर्ने मौका पाउँछन् ।

तपाईँहरूको सहयोगमा हामी नेपालकै लागि मात्र एउटा क्षेत्रीय छनोट आयोजना गर्न सक्छौँ! यसबाहेक, स्टार्टअपहरू प्रतिनिधिको रूपमा आएर पनि विश्वव्यापी प्रविधि र लगानीकर्ताहरूसँग जोडिन सक्छन् ।

एआईले धेरै क्षेत्रहरू परिवर्तन गरिरहेको बेला, के एआईले भविष्यमा यस्ता प्रत्यक्ष कार्यक्रमहरूलाई विस्थापित गर्छ वा यिनको महत्त्व अझै बढ्छ?

एआईले कार्यक्रमहरूलाई विस्थापित गर्दैन, बरु यसलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ । मानिस-मानिसबिचको प्रत्यक्ष भेटघाट र सम्बन्धको विकल्प एआई हुन सक्दैन । कोभिडपछि मानिसहरूले प्रत्यक्ष भेट्नु र हात मिलाउनुको महत्त्व झन् बढी बुझेका छन् ।

एआईले कार्यक्रमको अनुभवलाई सहज बनाउँछ । जस्तै नेटवर्किङका लागि सही मानिस छनोट गरिदिने, फोटोहरू तुरुन्तै उपलब्ध गराउने, र कार्यक्रम व्यवस्थापनलाई तीव्र बनाउन सकिन्छ । एआई हाम्रो सहयोगी हो । यसले हाम्रो कार्यक्षमता बढाउँछ, तर कार्यक्रमको मुख्य आत्मा भनेकै मानवीय सम्बन्ध हो ।

अन्त्यमा, ट्रेस्कनको आगामी दशकलाई कसरी हेर्नुभएको छ?

हाम्रो पहिलो दशक क्षमता प्रमाणित गर्ने र जग बसाल्ने काममा बित्यो । अबको दशक भनेको एआई र मानव बुद्धिमत्ताको प्रयोग गरेर अझ छिटो, स्मार्ट र प्रभावकारी काम गर्ने हो ।

हामी साधारण कार्यक्रमहरूभन्दा माथि उठेर ऊर्जा, दिगो विकास, सीप विकास, सुरक्षा र नयाँ प्रविधिका क्षेत्रमा केन्द्रित हुनेछौँ । हाम्रा मञ्चहरूले देशको नीति निर्माणमा प्रत्यक्ष सहयोग पुर्‍याउन सकुन् र ठोस नतिजा दिन सकुन् भन्ने नै हाम्रो मुख्य लक्ष्य रहनेछ ।

तपाईँको अमूल्य समय र यो प्रेरणादायी कुराकानीका लागि धेरै-धेरै धन्यवाद ।

धेरै-धेरै धन्यवाद! यहाँहरूसँग कुरा गर्न पाउँदा मलाई पनि निकै खुसी लाग्यो ।