दीर्घकालीन लगानीमा देखाएनन् शेयर लगानीकर्ताले रुचि


काठमाडौं – पछिल्लो समय शेयर लगानीकर्ताले दीर्घकालीन लगानीमा रुचि देखाउन छाडेको पाइएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार पछिल्लो समय लगानीकर्ताहरुले दीर्घकालीन लगानीमा चासो नदेखाएका हुन् ।

सेबोनले लगानीकर्ता शिक्षा तथा वित्तीय साक्षरताको कमी रहेको उल्लेख गरेको छ । दिगो र स्वस्थ पूँजी बजार निर्माणका लागि लगानीकर्ताको वित्तीय साक्षरता अत्यन्त आवश्यक हुने सेबोनको जनाएको छ । विकसित पूँजी बजारहरूमा विद्यालयदेखि विश्वविद्यालयसम्म वित्तीय शिक्षा समावेश गरिएको हुन्छ भने नियामक निकायहरूले नियमित रूपमा लगानीकर्ता शिक्षा अभियान सञ्चालन गर्दछन्। नेपालमा पछिल्ला वर्षहरूमा शेयर बजारप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको छ। लाखौं नागरिकले डिम्याट खाता खोलेका छन् र प्राथमिक सार्वजनिक निष्कासनमा व्यापक सहभागिता जनाएका छन्। तर, यससँगै वित्तीय ज्ञानको अभाव पनि स्पष्ट रूपमा देखिएको जनाएको छ ।

यसको प्रमुख समस्या कम्पनीको आधारभूत विश्लेषणभन्दा अफवाहमा आधारित निर्णय, सामाजिक सञ्जाल तथा अनौपचारिक समूहहरूबाट प्राप्त अप्रमाणित सूचनामा निर्भरता, जोखिम व्यवस्थापनसम्बन्धी ज्ञानको कमी, विद्यालय, विश्वविद्यालय तथा व्यवसायिक शिक्षामा पूँजी बजार सम्बन्धी पाठ्यक्रम सीमित हुनु रहेको छ । आर्थिक प्रभाव वित्तीय साक्षरताको कमीले साना लगानीकर्ताले अनावश्यक जोखिम लिने गरेको जनाएको छ ।

सुधारका लागि सेबोनले राष्ट्रिय इन्भेष्टर एजुकेशन स्ट्राटेजी तयार गर्ने, विद्यालय, कलेज तथा विश्वविद्यालयमा वित्तीय साक्षरता पाठ्यक्रम समावेश गर्ने, सेबोन, नेप्से तथा सीडीएसी मार्फत नियमित लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन गर्ने र महिलाहरू, युवा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा ग्रामीण समुदायलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।