कारोबार लागत कम गर्न प्राथमिक र दोस्रो बजार शुल्कमा पुनरावलोकन गर्दै सेबोन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने भएकाे छ । सेबोनले एक विज्ञप्ती जारी गर्दै नेपालको पूँजी बजार अहिले विकासको एक महत्वपूर्ण मोडमा उभिएको उल्लेख गरेको हो ।

बोर्डले पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा काम भएको जनाएको छ । यद्यपि पूँजी बजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखेर बोर्डले २०८३/८४ को नीति तथा कार्यक्रमलाई समयबद्धरूपमा कार्यान्वयन गर्ने बताएको हो ।

यस्तै, बोर्डले सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन अघि संगठित संस्थाहरूबाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाउने जनाएको छ । साथै, लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गर्ने उल्लेख छ ।