बजार लगातार घटेपछि आगामी साता पुँजी बजार विकास मार्गचित्र ल्याउँदै सेबोन


काठमाडौं – नेपाल धितोपत्र बोर्डले पुँजी बजार विकास मार्गचित्र ल्याउने भएको छ । सेबोनले धितोपत्र बजार सुधार र लगानीकर्ता हित संरक्षण सम्बन्धमा एक विज्ञप्ती जारी गर्दै आगामी साता पुँजी बजार विकास मार्गचित्र ल्याउने बताएको हो ।

नेपालको धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासो प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि यस बोर्डले गम्भीर रूपमा गृहकार्य गरी आगामी साता सम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने बताएको हो ।

बोर्डबाट अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी विषयहरूका सम्बन्धमा दिइएका निर्देशन अनुरूपका कामकारबाहीहरू तोकिएको समयमा सम्पन्न गर्न तथा थप स्वस्थ, सुरक्षित एवम् प्रभावकारी पूँजी बजारको वातावरण बनाउनदै लगेको बताएको छ । बोर्डले धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, लगायतका अन्य नियमावलीहरू तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।

पछिल्लो समय बजार लगातार रुपमा घटिरहेको बताउँदै सेबोनले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिएर काम गरेको बताएको छ । यस्तै, बोर्डले हल्ला, बहकाऊ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिएर सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन अनुरोध समेत गरेको छ ।