काठमाडौं –नेपाल धितोपत्र बोर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरुले सुझाव बुझाएका छन्। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष भट्टसँग भेट गरी धितोपत्र बजारको संरचनागत सुधार, कारोबार सहजीकरण तथा लगानीकर्तामैत्री व्यवस्था कार्यान्वयनका लागि विभिन्न सुझाव पेस गरेको हो।
एसोसिएसनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा धितोपत्र सदस्य दलाल व्यवसायीको राफसाफ तथा फर्छ्यौटका लागि प्रयोग हुने बैंक खाता रोक्का गर्दा नियमित कारोबार प्रभावित हुने र लाखौं लगानीकर्ता समस्यामा पर्ने भएकाले त्यस्ता सेटलमेन्ट खाता रोक्का नहुने व्यवस्था गर्न आग्रह गरेको छ।
यस्तै, शेयर कारोबारमा लगानीकर्ताबाट अनिवार्य रूपमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ब्रोकर कम्पनीको स्वविवेकमा अग्रिम रकम लिने वा नलिने व्यवस्था गर्न, बोलकबोलमार्फत बिक्री भएका साधारण तथा संस्थापक शेयर दोस्रो बजारमा बोलकबोलबाट निर्धारण भएको मूल्यका आधारमा कारोबार गर्न पाउने व्यवस्था गर्न तथा नेपाल बैंकर्स संघसँग समन्वय गरी स्टक ब्रोकर्स एसोसिएसनलाई ‘पीईपी लिस्ट’ उपलब्ध गराउन पनि सुझाव दिएको छ।
एसोसिएसनले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमा रहेको शेयर धितो कर्जासम्बन्धी सीमा पुनरावलोकन गर्न, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा सहज रूपमा लगानी गर्न सक्ने व्यवस्था मिलाउन तथा लगानीकर्ताले आवश्यकता अनुसार दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था गर्न आग्रह गरेको छ।
त्यसैगरी, आवश्यक मापदण्ड पूरा गरिसकेका ब्रोकर सदस्य कम्पनीलाई नयाँ सेवा सञ्चालनको स्वीकृति अविलम्ब प्रदान गर्न, नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएस एण्ड क्लियरिङ, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको समन्वयमा पुँजी बजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्नुपर्ने सुझाव पनि दिइएको छ।
एसोसिएसनले गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रत्यक्ष लगानी गर्न पाउने व्यवस्था यथाशीघ्र लागू गर्न, विदेशी संस्थागत लगानीकर्ताका लागि आवश्यक कानुनी व्यवस्था गर्न, सरकारी ऋणपत्र तथा बचतपत्रहरू ‘मेरो शेयर’मार्फत अभौतिक रूपमा निष्कासन गरी दोस्रो बजारमा कारोबारयोग्य बनाउने व्यवस्था मिलाउन तथा अनलाइन केवाईसी प्रक्रियालाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउन पनि सेबोनको ध्यानाकर्षण गराएको छ।






About Us
प्रतिक्रिया