लगानीकर्ता संघद्वारा गभर्नरसामू पाँच बुँदे माग


काठमाडौं – शेयर बजार लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समग्र पुँजी बजारको विकास र विस्तारका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ। संघका अध्यक्ष तारा प्रसाद फुल्लेका अनुसार नेपालको पुँजी बजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले सुझाव पेस गरिएको हो।

संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप स्वतन्त्रता प्रदान गर्नुपर्ने सुझाव दिएको छ। हाल लागू रहेका दोस्रो बजार लगानी सीमा, ‘लक–इन’ अवधि तथा अन्य नियामकीय प्रतिबन्धहरूको पुनरावलोकन गरी बजारको अवस्थाअनुसार लचक नीति अपनाउनुपर्ने संघको भनाइ छ। पर्याप्त पुँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा बजारमा लगानी गर्न प्रोत्साहन गरिए संस्थागत सहभागिता बढ्ने, कारोबारको तरलता विस्तार हुने र मूल्य स्थायित्वमा सकारात्मक योगदान पुग्ने संघले उल्लेख गरेको छ।

त्यसैगरी, लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी व्यवस्थामा सुधार गर्न पनि संघले सुझाव दिएको छ। सबै लघुवित्तमा एउटै मापदण्ड लागू गर्नुको सट्टा वित्तीय स्वास्थ्य, पुँजी पर्याप्तता, निष्क्रिय कर्जा, नाफा तथा सुशासनका आधारमा लाभांश वितरणमा लचक नीति अवलम्बन गर्नुपर्ने संघको माग छ।

संघले शेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउन हालको एकरूप कर्जा व्यवस्थालाई परिमार्जन गरी ‘रिस्क बेस्ड मार्जिन लेन्डिङ’ प्रणाली लागू गर्न सुझाव दिएको छ। यस्तै, गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको पुँजी बजारमा लगानी गर्न तथा आवश्यक पर्दा लगानी फिर्ता लैजान सहज हुने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। त्यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूको दीर्घकालीन कोषलाई स्पष्ट जोखिम व्यवस्थापन मापदण्डका आधारमा पुँजी बजारमा थप सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव पनि संघले गभर्नरसमक्ष पेस गरेको छ।