ललितपुर –जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ। नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा उक्त सेवा सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएकामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा छन्।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन्। घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताए। उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको छ। यद्यपि धेरै सेवाग्राहीले छिटो र सहज रूपमा राहदानी प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेका छन्।
जिल्ला हुलाक कार्यालय ललितपुरले राहदानी घरमै प्राप्त गरेपछि सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको जनाएको छ। कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ।
जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तले घरमै राहदानी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताए। उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेका छन् भने दुर्गम गाउँपालिकाबाट सेवाग्राहीको सहभागिता अपेक्षाअनुसार कम रहेको छ। स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको उनले बताए। सरकारी तथा बैंकिङ्ग सम्बन्धी कागजात आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको प्रमुख पन्तको भनाइ छ।






About Us
प्रतिक्रिया