सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले गत जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताले खरिद गर्न मिल्ने गरी निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अकिंत दरका ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि आज बैकिङ्ग समयभित्रमा आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।