काठमाडौं – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलको भुमरीमा फसेको छ। मन्त्रिपरिषद्मा नाम सिफारिस भएको दुई साता बितिसक्दा पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले जेठ ११, जेठ १५ र जेठ १९ गते गरी लगातार तीन पटक मन्त्रिपरिषद् बैठक बोलाए पनि सेबोन अध्यक्षको विषयमा कुरा नमिल्दा फाइल बालुवाटारमै ‘होल्ड’ भएको छ।
स्रोतका अनुसार सिफारिस समितिले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीलाई नै अध्यक्ष बनाउने गरी लबिइङ गरेको थियो। विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको हिमालयन रिइन्स्योरेन्सलाई तत्कालीन अध्यक्ष रमेशकुमार हमालको पालामा २०८० कात्तिक १ गते प्रिमियम मूल्यमा आइपीओ निष्कासन अनुमति दिँदा क्षेत्री सेबोनको बोर्ड सदस्य थिए। वित्तीय अवस्था कमजोर भएका कम्पनीलाई नीति नै संशोधन गरेर (अवधि ३ वर्षबाट घटाएर २ वर्ष बनाई) प्रिमियममा सेयर जारी गर्न दिने निर्णयमा क्षेत्रीको संलग्नता रहेको आरोप छ।
प्रिमियम आइपीओ प्रकरणमा आर्थिक चलखेल भएको भन्दै संसदीय सार्वजनिक लेखा समितिले रोक लगाउन निर्देशन दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष हमालसँग बयानसमेत लिइसकेको छ। महालेखा परीक्षकको कार्यालयले समेत आफ्नो प्रतिवेदनमा कम्पनीको वास्तविक नेटवर्थ विश्लेषण नगरी पर्याप्त आधारबिना अनुमति दिइएको र सर्वसाधारण लगानीकर्तालाई जोखिममा पारिएको औंल्याएको छ।
गत जेठ ८ गते चार जनाको अन्तर्वार्ता लिएको समितिले सुरुमा डा. अधिकारीलाई पन्छाउँदै विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सिफारिस गरेको थियो। तर, अहिले सबै उम्मेदवार कुनै न कुनै विवादमा तानिएपछि सिफारिस समिति आफैँ दबाबमा परेको छ।
सिफारिस सूचीमा परेका अर्का उम्मेदवार डा. गोपालप्रसाद भट्ट भने प्राज्ञिक रूपमा सबैभन्दा अब्बल देखिएका छन्। नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका भट्टले राष्ट्र बैंकमा रहँदा बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र वित्तीय व्यवस्थापन जस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए।
हाल विभिन्न विश्वविद्यालयमा लगानी व्यवस्थापन र वित्तीय डेरिभेटिभ्स पढाउने भट्ट र अर्का उम्मेदवार बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको नाम परिदृश्यमा भए पनि सेटिङ का कारण निर्णय हुन नसकेको स्रोतको दाबी छ। सेबोनको नेतृत्व रिक्त हुँदा पुँजी बजारका अर्बौँ रुपैयाँका फाइलहरू ठप्प छन्।
यसबीच तीन पटक मन्त्रिपरिषद्को बैठक बसिसक्यो। तर, निर्णय हुन सकेको छैन। जेठ ११ गते प्रधानमन्त्री बालेन्द्र शाहले विशेष रूपमा सेबोन अध्यक्ष नियुक्तिकै लागि दिउँसो ३:३० बजे बैठक बोलाएका थिए, तर निर्णय भएन। जेठ १५ मा बजेट पारित गर्ने मुख्य एजेन्डाबीच पनि यो विषयले स्थान पाएन। जेठ १९ मा सिंहदरबारमा मध्याह्न १२ बजे बसेको बैठकमा समेत विवादित अनुहारकै कारण प्रधानमन्त्रीले फाइल अघि बढाउन मानेनन्।






About Us
प्रतिक्रिया