असार ३ गतेदेखि आईपीओ निष्काशन गर्दै माउन्ट एभरेष्ट पावर


काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अकिंत दरका २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा कम्पनीको बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओको निष्काशन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर समेत आवेदन दिन सक्नेछन्।

Skip This