प्राप्त जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने: महानिरीक्षक कार्की


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताएका छन्।

हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बुधवार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन्। 

कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी योजनाबद्ध, पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।  

कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताए। सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए। 

विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।