‘लाइभ हब’ एपमार्फत विदेशी महिलाको नाममा अकाउन्ट खोली नेपालमा ठगी धन्दा चलाउने २ चिनियाँ पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौंको नक्साल नारायणचौरबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनका वाङ वेन्ड र चेन शुआन्गुई रहेका छन्। 

भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीरुलाई  पक्राउ गरेको हो। 

उनीहरूले नारायणचौरमा रहेको आरआर बिल्डिङमा एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाइभ हब एप मार्फत अकाउन्ट बनाइ विदेशी र भारतीय नागरिकहरुलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको प्रहरीले बताएको छ। 

उनीहरूलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।