३३ जना एसएसपीको सरुवा, सीआईबीमा अनुपम शमशेर जबरा

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए


काठमाडौं – नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु सरुवा भएका छन्।  प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्। 

सरुवा सूचीअनुसार, केन्द्रीय अनुसन्धान ब्युरोमा अनुपम शमशेर जबरा आएका छन्। काठमाडौँ र ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरू पनि फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ, भने जिल्ला प्रहरी परिसर ललितपुरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ। 

रमेश थापालाई मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर, धनुषामा सरुवा गरिएको छ। साथै, होविन्द्र वोगटीलाई नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा सरुवा गरिएको छ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरोमा काज सरुवा गरिएको छ। प्रभु ढकाललाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। 

साथै, सीआईबीका शिव कुमार श्रेष्ठलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।