आर्थिक सर्वेक्षणः

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक


काठमाडौं – चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रूपैयाँ बराबरको कारोबार भएको उल्लेख छ। गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँ थियो।

त्यस्तै,औसत दैनिक कारोबार रकम पनि गत वर्षको नौ अर्ब ८३ करोड रूपैयाँबाट घटेर सात अर्ब ४५ करोड रुपैयाँमा झरेको छ। कारोबार भएका धितोपत्रको सङ्ख्या २७ दशमलव २ प्रतिशत र कारोबार सङ्ख्यामा २९ दशमलव ८ प्रतिशतले घटेको छ।

अघिल्लो आवको तुलनामा नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२० दशमलव ४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६ दशमलव ४९ विन्दुको तुलनामा बढी हो।

त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधीको तुलनामा चार दशमलव ४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण रु ४५ खर्ब ४३ अर्ब ८१ करोड थियो।

कूल जनसङ्ख्याको २६ प्रतिशत डिम्याट खाता खुल्यो

सार्वजनिक विवरणअनुसार चालु आवको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ। जुन कूल जनसङ्ख्याको २६ दशमलव दुई प्रतिशत हो। यो सङ्ख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो । त्यस्तै २०८२ असार मसान्तसम्म मेरो शेयर खाताको सङ्ख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ।

दोस्रो बजारमा कारोबार गर्ने बढे

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढेको छ। सार्वजनिक विवरणअनुसार चालुु आवको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको सङ्ख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ। गत आवको सोही अवधिमा यस्तो सङ्ख्या २५ लाख ४९ हजार ६९६ थियो।