बैंक धितो बन्धकमा देखिएको समस्या चिर्न स्थानीय तह र बैंकर्स संघलाई विभागको पत्राचार


काठमाडौं – स्थानीय तहबाट घरजग्गा कारोबार र बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय संस्थामा समस्या देखिएपछि विभागले आवश्यक निर्णय गर्दै स्थानीय तह र नेपाल बैंकर्स संघलाई पत्राचार गरेको हो।

सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार तयार नहुँदा कठिनाइ उत्पन्न भएपछि विभागले न्यूनतम पूर्वाधारको सूचीसमेत तयार गरेको छ। विभागले हालसम्म २२५ स्थानीय तहले भूमि व्यवस्थापन सेवा प्रवाहका लागि पत्राचार गरेका थिए। तीमध्ये पहिलो चरणमा ३५ स्थानीय तह छनोट गरी काम सुरु गर्ने तयारी भए पनि आवश्यक पूर्वाधार नपुगेपछि सेवा प्रवाहमा समस्या देखिएको हो।

त्यसैगरी, स्थानीय तहबाट घरजग्गा सम्बन्धी सेवा सञ्चालन गर्न भूमि व्यवस्थापन शाखाको प्रस्तावित संगठन संरचना पनि तयार गरिएको छ। जसअन्तर्गत भू-सेवा केन्द्र तथा कागजात परीक्षण फाँट, लिखत रजिष्ट्रेसन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट र तामेली फाँट रहने व्यवस्था प्रस्ताव गरिएको छ।

साथै, विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवासम्बन्धी कारोबार अनलाइन मार्फत गराउन नेपाल बैंकर्स संघबाट आवश्यक सहजीकरण गरिदिन पत्राचार भएपछि समस्या समाधान गर्न समेत आवश्यक निर्णय गरेको छ।