सेबोन अध्यक्षको सर्टलिस्टमा परे राष्ट्र बैंकका दुई पूर्व कार्यकारी निर्देशक, अरु को-को ?


काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जना सर्टलिस्टमा परेका छन् । बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले संक्षिप्त सूचि प्रकाशन गर्दै ४ जना सर्टलिस्टमा परेको जनाएको हो ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित बोर्डको अध्यक्ष छनौट सिफारिस समितिबाट बैशाख १५ मा इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरिएको र तोकिएको म्याद भित्र ४७ जनाले आवेदन दिएकाेमा संक्षिप्त सूचि तयार गरेको हो ।

संक्षिप्त सूचिमा सेबोनका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरु डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री समावेश भएका छन् । यस्तै, सर्टलिस्टमा विनयदेव आचार्य परेका छन् । आचार्य हाल बोर्ड कै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनीहरुलाई अध्यक्ष छनोट समितिले जेठ ८ गते छलफलमा बोलाएको छ ।