‘विनियोजन विधेयकमा समेटिएनन् पुँजी बजार सुधारका ठोस योजना ‘


काठमाडौं – प्रतिनिधि सभा सदस्य अम्बिकादेवी सङ्ग्रौलाले विनियोजन विधेयकमाथिको छलफलमा पुँजीबजार सुधारसम्बन्धी ठोस योजना समावेश नभएकाे बताएकि छिन्। सङ्ग्रौलाले विनियोजन विधेयकका सिद्धान्तमा राज्यको राजस्वको प्रमुख स्रोतमध्ये एक पूँजीगत लाभकर भएपनि प्राथमिकतामा नराखिएकाे टिप्पणी गरिन्।

उनले निजी क्षेत्रको मनोबल बढाउने र अवरोध हटाउने विषय स्वागतयोग्य भए पनि विधेयकमा पूँजी बजार सुधारसम्बन्धी स्पष्ट योजना नदेखिएको उल्लेख गरिन्।

सांसद संग्रौलाले भारतको एसएन्डपी ५०० इन्डेक्स फन्डजस्तै नेपालमा पनि पूँजी बजारमा लगानी गर्ने विशेष कोष स्थापना गर्न सुझाव दिइन्। यस्तो कोषलाई डायस्पोरा नेपाली तथा देशभर रहेका करिब ७५ लाख डिम्याट होल्डरसँग समन्वय गरेर सञ्चालन गर्न सके अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

यसअघि पनि नेप्से इन्डेक्स फन्डजस्ता योजनाहरू कागजमै सीमित भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमार्फत यस विषयलाई व्यवहारिक रूपमा अगाडि बढाउन सरकारसँग माग गरिन्।