काठमाडौं – कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा निष्कासन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २२ गते हुनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्, त्यस्तै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर समेत सो आईपीओमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया