आजदेखि माउन्ट एभरेष्टको आईपीओ बिक्री खुला


काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो। 

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ८ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

उक्त शेयरमध्ये ३ लाख ४४ हजार कित्ता शेयर अति प्रभावित क्षेत्र, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरूका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा र्वैशाख ३१ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।