काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले आवेदन मागेको छ। अध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित समितिले इच्छुक योग्य नेपाली नागरिकलाई ७ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न सूचना जारी गरेको हो।
अर्थ मन्त्रालयले मंगलबार प्रकाशन गरेकाे सूचना अनुसार आवेदन दिने अन्तिम मिति २१ वैशाख २०८३ तोकिएको छ। आवेदन अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ।
को-को हुन सक्छन् योग्य?
सूचनाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, अर्थशास्त्र, वित्त, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव अनिवार्य गरिएको छ।
उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने र सम्बन्धित कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने उल्लेख छ। उमेर हद पनि तोकिएको छ। आवेदन दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
को -को अयोग्य ठहरिने?
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, ठगी, जालसाजी, नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहरिएका व्यक्ति आवेदन दिन अयोग्य हुनेछन्। त्यस्तै विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका, सरकारी निकायसँग ठेक्कापट्टामा संलग्न रहेका, मानसिक सन्तुलन ठीक नभएका वा कालोसूचीमा रहेका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन्।
के-के कागजात चाहिन्छ?
आवेदनसँगै व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यअनुभव पुष्टि गर्ने कागजात
स्वघोषणा फाराम बुझाउनुपर्ने छ । स्वघोषणामा उम्मेदवारले आफू राजनीतिक दलको सदस्य नभएको, सेबोनसँग निजी स्वार्थ नभएको, कुनै इजाजतप्राप्त संस्थासँग प्रत्यक्ष सम्बन्ध नरहेकोलगायत विवरण खुलाउनुपर्नेछ।
समितिले प्राप्त आवेदनमध्ये कसैलाई पनि कारण खुलाएर वा नखुलाएर संक्षिप्त सूची मा नराख्न सक्ने सूचनामा उल्लेख गरिएको छ। झुट्टा विवरण वा नक्कली कागजात पेस गरे आवेदन स्वतः रद्द हुने र कानुनी कारबाहीसमेत हुने जनाइएको छ।



About Us
प्रतिक्रिया