पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थमन्त्रालय


काठमाडौं – अर्थ मन्त्रालयले पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको बताएको छ । मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितीपत्र सार्वजनिक गर्दै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको औल्याएको हो ।

हाल पुँजी बजारमा २०८२ फागुनसम्म २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्यूटीको अंश ९९.४ प्रतिशत रहेको छ। पुँजी बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहे तापनि दोस्रो बजार कारोबार सुचारु हुन सकेको छैन।

२०७३ असारमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२।५ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७।७ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा सो हिस्सा ५२.२ प्रतिशतमा झरेको छ। सरकार गठन हुनु अघि २०८२ चैत ११ मा नेप्से सूचकाङ्क २ हजार ९५०.१६ बिन्दुमा रहेको थियो।

पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।