वैशाख २९ गतेदेखि सर्वसाधाराणमा आईपीओ निष्काशन गर्दै स्नो रिभर्स


काठमाडौं – स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यस पश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार ७५० कित्ता साधारण शेयर वैदेशिक रोजगार गएका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओको निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।