काठमाडौं – २०८२ सालमा नेपाल प्रहरीले दण्ड जरिवाना र विभिन्न कानुनी कारबाहीमार्फत २ अर्ब ४७ करोड ३५ लाख ९२ हजार रुपैयाँ गैर कर राजस्व संकलन गरेको छ। अवैध गतिविधि नियन्त्रणका क्रममा बरामद हुने वस्तु तथा जरिवानाबाट यस्तो राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अवैध सुनचाँदी बरामद, स्रोत नखुलेको रकम नियन्त्रण, हुन्डी कारोबार, अवैध मुद्रा, अवैध मालसामान, नदीजन्य पदार्थको अवैध उत्खनन, अदालतको फैसला कार्यान्वयन, अवैध काठ तथा वन्यजन्तुजन्य वस्तु बरामद र ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाहीबाट यो राजस्व संकलन भएको हो।
प्रहरीका अनुसार अवैध सुनचाँदी बरामद, स्रोत नखुलेको रकम नियन्त्रण, हुन्डी कारोबार, अवैध मुद्रा, अवैध मालसामान, नदीजन्य पदार्थको अवैध उत्खनन, अदालतको फैसला कार्यान्वयन, अवैध काठ तथा वन्यजन्तुजन्य वस्तु बरामद र ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाहीबाट यो राजस्व संकलन भएको हो।
गैरकर राजस्व बढ्नु सकारात्मक होइनः प्रहरी
प्रहरीका अनुसार गैरकर राजस्वको वृद्धि सिधै अवैध तथा आपराधिक गतिविधि बढेसँग सम्बन्धित हुने भएकाले यसलाई सकारात्मक रूपमा लिन नसकिने बताइएको छ। पछिल्लो समय बैंकिङ्ग कसुर, चोरी, ठगीलगायत आर्थिक अपराधका घटनामा समेत वृद्धि देखिएको प्रहरीको भनाइ छ। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार अपराध नियन्त्रणका लागि अनुसन्धान र निगरानी कडा बनाइएकाले राजस्व संकलन पनि बढेको हो।

ट्राफिक कारबाहीबाटै सबैभन्दा बढी राजस्व
प्रहरीको कुल गैरकर राजस्वमध्ये सबैभन्दा ठुलो हिस्सा ट्राफिक प्रहरीले संकलन गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, लेन अनुशासन उल्लंघन, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभाबी पार्किङ, कागजात अभाव र लाइसेन्स नहुँदा गरिने कारबाहीबाट ठुलो रकम उठ्ने गरेको छ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा संकलन बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४१ करोड ८९ लाख, ०७९/८० मा १ अर्ब ८८ करोड १४ लाख, ०८०/८१ मा १ अर्ब ७५ करोड ८१ लख र ०८१/८२ मा १ अर्ब २८ करोड १८ लाख रुपैयाँ संकलन भएको छ।
उपत्यकामा विशेष ट्राफिक अभियान
काठमाडौं उपत्यकामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पछिल्लो दुई महिनादेखि विशेष अभियान सञ्चालन गरेको छ। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार अभियानको उद्देश्य राजस्व संकलन नभई सडक अनुशासन सुधार गर्नु हो। उनकाअनुसार अभियानको क्रममा एकै दिनमा २५ लाख रुपैयाँसम्म राजस्व संकलन भएको छ। वैशाख १ देखि १० गतेसम्म मात्र १ करोड ३१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ३ हजार ५ सय १ चालक कारबाहीमा परेकामा २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले बैशाख ७ गते बिहान देखि ८ गते बिहानसम्ममा नै तीन हजार ५०१ जनालाई कारबाही गरेको छ। कारबाहीबाट जम्मा राजस्व रकम २५ लाख १५ हजार ५०१ रुपैयाँ उठाएको छ।
साथै, ८ गते बिहानदेखि ९ गते बिहान सम्ममा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ। ९ गते बिहानबाट १० गते बिहानसम्ममा १९ लाख राजस्व सङ्कलन गरेको छ । देशभर गैरकानुनी गतिविधि बढ्दै जाँदा त्यससँग सम्बन्धित गैरराजस्व संकलनमा पनि बढी उठ्ने गरेको प्रहरी बताउँछन्। प्रहरीका अनुसार तीव्र गति, रातो बत्ती उल्लंघन, लेन अनुशासन नमान्ने जस्ता गतिविधिमा विशेष निगरानी बढाइएको छ।
गैरकर राजस्वको दीर्घकालीन प्रवृत्ति
प्रहरीको समग्र तथ्यांकअनुसार आव ०७८/७९ मा ४ अर्ब २६ करोड ९६ लाख, आव ०७९/८० मा ४ अर्ब ९६ करोड ६६ लाख, ०८०र८१ मा ८ अर्ब ७० लाख र ०८१/८२ मा ६ अर्ब ६६ करोड ९ लाख रुपैयाँ संकलन भएको छ। प्रहरीका अनुसार औसतमा वार्षिक ४ अर्बभन्दा बढी गैरकर राजस्व संकलन हुँदै आएको छ।
आर्थिक वर्ष २०८०/८१ मा वृद्धि देखिए पनि पछिल्लो वर्ष २०८१/८२ मा करिब २ अर्बले कमी आएको तथ्यांकले देखाएको छ। प्रहरीले अपराध नियन्त्रणका लागि निगरानी र कारबाही दुवै बढाइरहेको भन्दै यसै कारण गैरकर राजस्व संकलनको आकार पनि प्रभावित हुने गरेको जनाएको छ।



About Us
प्रतिक्रिया