वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै टक्सार पिखुवा खोला


काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले यही वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनील पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ। यससँगै, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब सर्वसाधारण लगानीकर्ताहरूका लागि २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्कासन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २८ गते हुनेछ भने ढिलोमा जेठ ६ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।