वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्दै माउन्ट एभेष्ट पावर


काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ८ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।

उक्त शेयरमध्ये ३ लाख ४४ हजार कित्ता शेयर अति प्रभावित क्षेत्र, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१ र २ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरुका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ। त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा वैशाख ३१ गते हुनेछ भने ढिलोमा जेठ १८ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ। सो आईपीओमा स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत स्थानियले आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।