आजदेखि सर्वसाधारणका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला


काठमाडौं – सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज अर्थात् वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा बाँकी प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिंकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सो आईपीओमा छिटोमा वैशाख ८ गते र पूर्ण आवेदन नपरेमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।