सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता होः पूर्वमन्त्री खनाल


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्।

काठमाडौं क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा आज आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उनले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताएका छन्।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताए।

काठमाडौं क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गरे। सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्‍याउने उनको भनाइ छ ।

उनले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पारे। उनले काठमाडौं क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताए।