एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’


 काठमाडौं – एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ। विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम यो प्याक सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन्। पुस २६ बाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र २९९ रुपैयाँ तोकिएको छ।

यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट ईसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन्।

‘ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन्, जसअन्तर्गत प्रति मिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिन्छ’ एनसेलले एक विज्ञप्तिमार्फत भनेको छ ‘त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन्।’

एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा १९ रुपैयाँमै प्रदान गरिने र प्रयोगकर्ताले यो डेटा फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्नु पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ।