मानव अधिकार अभियन्ता केसी राजनीतिमा, कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारी


काठमाडौं – मानव अधिकारका लागि युवा नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा सक्रिय अभियन्ता राहुल केसी अब राजनीतिमा प्रवेश गर्ने भएका छन्। केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ उम्मेदवारी दिने घोषणा गरेका छन्। केसी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनितीमा प्रवेश गर्न लागेकाे खबर बाहिरिएपनि औपचारिक निर्णय भने सार्वजनिक भएकाे छैन।

केसी सन् २०१२ देखि युथ फर हुमन राइट्स नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा युवाको भूमिका, न्याय, उत्तरदायित्व र नागरिक सचेतनाका विषयमा आवाज उठाउँदै आएका छन्। २०१४ मा बेल्जियमको ब्रुसेल्समा उनी ‘हुमन राइट्स हिरो अवार्ड’ बाट पनि सम्मानित भइसकेका छन् ।

केसीले विश्वका ५० भन्दा बढी विश्वविद्यालयहरूमा नेतृत्व, शासन र सामाजिक उत्तरदायित्वका विषयमा अभिमुखीकरण सञ्चालन गर्दै आएका छन्। २०१७ मा उनले १ सय २० भन्दा बढी देशका युवालाई जोड्ने अन्तर्राष्ट्रिय युवा मञ्च सह-स्थापना गरे। जसले विश्वभरका युवालाई नीतिगत संवाद र प्रणालीगत परिवर्तनका लागि साझा प्लेटफर्म प्रदान गरेको छ।