सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा चाडपर्वको समयमा आम नागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आम नागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन्। असोज २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत सो निर्देशन दिनुका साथै,आउँदै गरेको विजया दशमी, शुभ दीपावली र छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा हार्दिक शुभकामना समेत व्यक्त गरे । 

उनले सङ्गठनका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्ण मोहन श्रेष्ठ लगायत राष्ट्र सेवामा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग भई उपचारत रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे। पौडेलले चाडपर्वका बेला लोक मार्गहरूमा हुनसक्ने सवारी दुर्घटना, बजार तथा औद्योगिक क्षेत्रमा चोरी–लुटपाट, सीमापार अवैध चोरी–निकासी, पैठारी, राजस्व चुहावट र लागू औषधको ओसारपसार जस्ता अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लाई उच्च सतर्कताका साथ कार्यान्वयन गर्न निर्देशन दिए।

सोही पौडेलले नागरिकहरू हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा सुरक्षाकर्मीहरूले भोक, प्यास, घाम, पानी र व्यक्तिगत सुख–सुविधाको प्रवाह नगरी अनवरत रूपमा कर्तव्यपथमा खटिनु नै राष्ट्रसेवकको वास्तविक पहिचान र धर्म भएको स्मरण गराउँदै हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा मुलुकका विभिन्न भागमा भएका विपद्का घटनाहरूमा आफ्नो ज्यानको बाजी थापेर खोज, उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको प्रशंसा गरे।

उनले सीमा सुरक्षा, विपद् व्यवस्थापन, नागरिकको जीउधनको संरक्षण तथा आन्तरिक सुरक्षाका साथै संयुक्त राष्ट्र सङ्घीय मिसनहरूमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै स्वदेशी तथा विदेशी भूमिमा चाडपर्वका समयमा आफ्नो कर्तव्यमा खटिने सम्पूर्ण राष्ट्रसेवकहरूको समर्पण, अनुशासन र सेवा भावप्रति कृतज्ञता व्यक्त गरे।  

पौडेलले सङ्गठनभित्र भ्रष्टाचार, अनियमितता, स्वार्थको द्वन्द्व र अधिकारको दुरुपयोगमा संलग्नता कसैलाई पनि स्वीकार्य नहुने र सुशासन, पारदर्शिता तथा निष्पक्षतालाई कडाइकासाथ पालना गर्नुपर्ने उल्लेख गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सङ्गठनलाई दक्ष, आधुनिक, प्रविधिमैत्री र परिणाममुखी विशिष्टीकृत सुरक्षा निकायका रूपमा विकास गर्न सबै तहका कमान्डरहरूलाई निर्देशन  दिए।

उनले गलत काम गर्नेलाई कारबाही र असल काम गर्नेलाई पुरस्कृत गर्ने नीति अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र नागरिकको हितमा समर्पित हुनुपर्ने उल्लेख गर्दै आन्तरिक सुरक्षा तथा हुलदङ्गा व्यवस्थापनमा ओभररियाक्ट नगरी स्थानीय प्रशासन ऐन बमोजिम समानुपातिक बल प्रयोगको सिद्धान्त पालना गर्न र मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा एवं दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई पूर्ण रूपमा पालना गरी परिचालन हुनुपर्नेमा जोड दिए।