नेपाल एसबिआई बैंकको नाफा २ करोड २० लाख रुपैयाँले घट्यो

नेपाल एसबिआई बैंकको नाफा २ करोड २० लाख रुपैयाँले घट्यो


नेपाल एसबिआई बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निक्षेप संकलन लागत बढेर ब्याज खर्च बढ्दा बैंकको खुद ब्याज आम्दानीसँगै मुनाफामा पनि सामान्य गिरावट आएको बैंक बताउँछ । 

एसबिआई बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब ७ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत आर्थिक वर्षको तुलनामा तुलनामा २ करोड २० लाख रुपैयाँले कम हो । 

गत आर्थिक वर्षको पुससम्ममा बैंकले एक अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पुससम्ममा बैंकले २ अर्ब १० करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत आर्थिक वर्षको भन्दा करिब साढे ८ करोडले कम हो । गत आवको सोहि अवधिमा बैंकले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४ अर्ब ६४ करोड निक्षेप सङ्कलन गरी ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब १० करोड १७ लाख खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा ८ करोड ६६ लाख रुपैयाँ कम हो। यस्तै बैंकको सञ्चालन नाफा पनि १ करोड ५४ लाख रुपैयाँ घटेर १ अर्ब ४१ करोड ३४ लाखमा झरेको छ।
बैंकको व्यवसाय विस्तार सामान्य मात्र बढ्न तथा निक्षेप संकलन लागत बढ्दा ब्याज खर्चमा देखिएको उच्च बढोत्तरीले खुद नाफा संकुचित बनेको बैंकको बुझाई छ । कूल ब्याज आम्दानी ६.६१ प्रतिशतले बढाएको बैंकको ब्याज खर्च भने १३.८९ प्रतिशतले बढेको छ।

चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी ५२ पैसा घटेर २३ रुपैयाँ ६९ पैसा कायम भएको छ। बैंकको जगेडा कोषको आकार ३ अर्ब ८५ करोड १४ लाखबाट बढेर ४ अर्ब १० करोड ५१ लाख रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १६८ रपैयाँ ४० पैसा छ। गत आवबाट १६ प्रतिशत लाभांश वितरण गर्दा बैंकको शेयरधनी कोष १७ करोड ९४ लाख घटेर १ अर्ब ६७ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।

पुस मसान्तसम्ममा ७३ करोड ६६ लाख ५५ हजार रुपैयाँ रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १७.४४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम भएको छ । वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात ०.०२ बिन्दुले घटेर ०.१७ प्रतिशतमा कायम हुँदा बैंकको कोषको लागत १.१८ बिन्दुले बढेर ७.०९ पुगेको छ। बैंकको आधार दर ०.१२ बिन्दुले बढेर ९.९४ पुगेको छ। प्रतिशेयर आम्दानीको तुलनामा शेयरमूल्य अनुपात १६.८४ गुणा धेरै रहेको बैंकको स्प्रेडदर ५.२२, पूँजीकोष अनुपात १२.९८ प्रतिशत रहेको छ ।