नयाँ नोट असोज २९ देखि साट्न पाइने, क्यूआर कोडमार्फत पनि नयाँ नोट साट्न सकिने सुविधा

नयाँ नोट असोज २९ देखि साट्न पाइने, क्यूआर कोडमार्फत पनि नयाँ नोट साट्न सकिने सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।

यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट (असोज २९ ) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक बताएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी  गरेको छ छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ ।

क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले बताएको छ । यद्यपि सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न आग्रह गरिने राष्ट्र बैंकको तयारी छ ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।