उद्योग वाणिज्य महासंघले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने, ७७ जिल्लाका उद्योगी व्यवसायीमार्फत पूँजी संकलन गर्ने

उद्योग वाणिज्य महासंघले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने, ७७ जिल्लाका उद्योगी व्यवसायीमार्फत पूँजी संकलन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने भएको छ । महासंघले देशैभरका उद्योगी व्यवसायीमार्फत पूँजी संकलन गरी ‘बृहत् लगानी कम्पनी’ खडा गर्ने भएको छ । बागलुङको ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले देशका ७७ वटै जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहने गरी बृहत् लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । महासंघका अनुसार यो कम्पनीले ठूला परियोजनामा लगानी गर्नेछ ।

‘७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय भएको छ’ महासंघले भनेको छ । तर, कति पूँजीको कम्पनी स्थापना गर्ने र त्यसको मोडालिटी कस्तो हुने भन्ने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

अहिले ठूला परियोजनामा लगानी गर्न सक्ने र त्यस्ता परियोजनामा लगानी अभाव नहोस् भन्नका लागि बृहत् कम्पनी स्थापना गर्ने निर्णय मात्रै भएको र पूँजी कति हुने भन्ने अन्तिम निर्क्योल हुन बाँकी रहेको महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले देशैभरीका उद्योगी व्यवसायीको लगानी रहने गरी बृहत् इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षले गरेको प्रस्ताव कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।