मिटर ब्याज सम्बन्धी ३८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट, उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिन सम्बन्धी​​​​​​​ 

मिटर ब्याज सम्बन्धी ३८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट, उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिन सम्बन्धी​​​​​​​ 


बैंकिङ्ग समाचार, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ( मिटर ब्याज ) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ३८८ उजुरी फर्छ्यौट गरेको छ। अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ३८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। यस्तै, सहमति नभएपछि दुई मुद्दा भने दर्ता भएको जनाइएको छ।

मिटर ब्याजी विरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिन सम्बन्धी छ। थोरै रकम दिएर त्यस बापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितो बापत राख्ने प्रवृत्ति रहेको पाइएको लम्सालले बताए। 

उजुरीको छानबिनका क्रममा दुवै पक्ष बाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।

यस्तै, लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ। ‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही अनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका लागि छलफल गराउँछौ।’