साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए, विदेशमा आर्थिक वर्षमा १ हजार २०५ जनाको मृत्यु

साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए, विदेशमा आर्थिक वर्षमा १ हजार २०५ जनाको मृत्यु


बैंकिङ्ग समाचार, काठमाडौं ।

सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ । उनको निधनपछि परिवारमा बज्रपात परेको छ । 

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन ?

गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् । 

खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।